२०८१ श्रावण १२

अर्घाखाँचीको पाणिनीमा झण्डै ५ सय जनाको निःशुल्क आखाँ जाँच, मोतिया विन्दुको समस्या भएका ३० जनाको शल्यक्रिया
  • लुम्बिनी खोज
  • २०८० पुष ७, शनिबार ११:५६ गते

औषधी र चश्मा पनि वितरण
अर्घाखाँची ७ पुस ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भएको वृहत निःशुल्क आँखा शिविरमा ५ सय जनाको आखाँ जाँच गरिएको छ । शिविरमा आएका मध्ये ३० जनाको निःशुल्क मोतिया विन्दुको शल्यक्रिया समेत गरिएको छ ।
पश्चिम नेपाल विकास ट्रष्टको आयोजनामा तथा पाणिनी गाउँ पालिकाको सहयोग तथा ब्यवस्थापन र नेपाल नेत्र ज्योति संघ अर्घाखाँचीको प्राबिधिक सहयोगमा सम्पन्न आँखा शिविर मा स्थानियको उत्साहजनक सहभागिता रहेको ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङले बताए । आखाँ जाँचका क्रममा आँखामा समस्या देखिएकाहरुलाई निःशुल्क रुपमा आवश्यकता अनुसार चश्मा तथा औषधी समेत वितरण गरिएको कार्यक्रमको संयोजक समेत रहेका ट्रष्टका उपाध्यक्ष माधवप्रसाद आचार्यले बताए ।
पाणिनीको दुर्गाफाट बरकारुख स्थीत आयुर्वेद भवनमा सम्पन्न आँखा शिविरमा ३ लाख बराबरको औषधी तथा चश्मा वितरण गरिएको ट्रष्टका सचिव पदम घिमिरेले बताए । ट्रष्टकी कोषाध्यक्ष लक्ष्मी अधिकारीले शिविरमा बालबालिकादेखि वृद्धवृद्धासम्मले आखाँ जाँच गराएको बताइन । ट्रष्टका सदस्य देवीप्रसाद घिमिरेले पाणिनीमा आखाँका बिरामी धेरै रहेकाले पालिकासगको सहकार्यमा शिविर सम्पन्न गरिएको बताए ।
कार्यक्रममा रणअम्विका आखा अस्पताल भैरहवाकी डाक्टर लक्ष्मी मानन्धर, नेपाल नेत्र ज्योति संघ अर्घाखाँची आखाँ अस्पतालका प्रमुख सागर घिमिरेसहित १० जनाको स्वास्थ्य टोलि खटिएको थियो ।आँखा शिविरका लागि ट्रष्टका वरिष्ठ सल्लाहकार समेत रहेका सस्थापक अध्यक्ष युवा पर्यटन ब्यवसायी गोपाल प्रसाद भुसाल र आजिवन सदस्य तथा टेम्पल ट्रि रिसोर्ट पोखराका सञ्चालक युवा ब्यवसायी बसन्त गौतमबाट समेत सहयोग भएको सचिव घिमिरेले बताए । 

शिविरको उद्घाटन गर्दै पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले गाउँपालिकामा भएको शिविरबाट धेरै लाभान्वित हुने भन्दै यसका लागि योगदान गर्ने आयोजक तथा सहयोगी संस्थाहरुलाई धन्यवाद दिए । नेपाल नेत्र ज्योति संघ अर्घाखाँची आखाँ अस्पतालका प्रमुख सागर घिमिरेले आँखा शरीरको महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको भन्दै स्वास्थ्यमा ख्याल राख्न सुझाव दिए । उनले पाणिनीमा आखाँ जाँचका लागि सेवा विस्तार गर्न पालिकालाई अनुरोध गर्नै यसका लागि आफ्नो तर्फबाट सहयोग रहने बताए ।
पालिकाका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेले पालिका भित्र आखाँमा समस्या भएकाहरु धेरै रहेको भन्दै शिविरबाट धेरै लाभान्वित भएको बताए ।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष नर्मदा गौतम, प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, गाउँपालिकाका पूर्व अध्यक्ष अच्युत गौतम, पालिकाका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे,स्वास्थ्य शाखा उपप्रमुख रामप्रसाद घिमिरे तथा जनप्रतिनिधि, स्वास्थ्यकर्मी एंव कर्मचारीहरुको सहभागिता रहेको थियो ।
शिविर सम्पन्न गर्न ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङ, उपाध्यक्ष माधबप्रसाद आचार्य, सचिब पदम घिमिरे, कोषध्यक्ष लक्ष्मी अधिकारी, सदस्यहरु देवीप्रसाद घिमिरे, नमनारायण वेलवासे, मञ्जु आचार्य, तारा घिमिरेलगायतको टिम सक्रिय पूर्वक लागेको थियो ।
वृद्धवृद्धालाई लक्ष्मीको सम्मान
आँखा शिविरमा ट्रष्टकी कोषाध्यक्ष लक्ष्मी अधिकारीले वृद्धवृद्धालाई राधे राधे लेखिएका खादाद्धारा सम्मान गरेकी थिइन् । करिब ६० जनालाई उनले खादा प्रदान गरेकी थिइन् । खादा पालिकाका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतम, प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले वृद्धवृद्धालाई ओढाएका थिए ।