८ जेष्ठ २०८१, मंगलवार

प्रधानमन्त्री प्रचण्डको अपील : मरेपछि खरानी भएर जाने अंग दान गरौं
  • लुम्बिनी खोज
  • ७ पुष २०८०, शनिबार १६:५१

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न अपील गरेका छन्।

शनिबार बिहान काठमाडौंमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै उनले मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउने प्रयास गर्न आग्रह गरेका हुन्।मरेपछि खरानी भएर जाने अंगहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउने उनको भनाई छ। ‘मस्तिष्क मृत्युपछि अंगदान गर्नेसम्बन्धी विषयमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको प्रयास सराहनीय छ। मस्तिष्क मृत्युपछि अंगदान गर्न आम सर्वसाधारण हिचकिचाइरहेको देखिन्छ।

म स्वयंले पनि अंगदान गर्ने घोषणा यसअघि नै गरेको छु।’प्रचण्डले भने,‘सबै दाजुभाइ दिदीबहिनीहरूमा म आह्वान गर्दछु–मरेपछि  खरानी भएर जाने अंगहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन्। मानव हुनुको नाताले कलेजो, मृगौला, मुटु, फोक्सो लगायतका अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो। तसर्थ, अंग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा हार्दिक अपील गर्दछु।’