२०८१ श्रावण १२

सगरहवामा कपिलबस्तु मूर्ती कार्यशालाको तयारी
  • लुम्बिनी खोज
  • २०८० पुष १०, मंगलवार १५:१६ गते

 

लुम्बिनी ।

प्राचिन कपिलबस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरेको बुद्धकालिन कपिलबस्तुको सगरहवामा आगामि पुस २३ गते देखि माघ ८ गतेसम्म कपिलबस्तु राष्ट्रिय मुर्तिकला कार्यशाला हुने भएको छ । लुम्बिनी विकास कोषको मुख्य आयोजना तथा कपिलबस्तु नगरपालिका सहित विभिन्न संघसंस्थाहरुको सहकार्यमा सगरहवा क्षेत्रको पुरातात्विक महत्व उजागर गर्दै पर्यटन प्रर्वद्धन गर्ने गरी मूर्तीकला कार्यशाला गर्ने तयारी गरिएको हो ।
मंगलबार कोष सहित प्रदेश सांसद, स्थानीयतहका जनप्रतिनिधि, कपिलबस्तु राष्ट्रिय मूर्ती कार्यशाला उपसमितिका संयोजकहरु सहितको बैठकले कार्यशालाको मितिसँगै तयारीका कामहरु गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एंव पूर्वमन्त्री विष्णु पन्थीले कपिलबस्तुको सगरहवा पुरातात्विक र ऐतिहासिक थलो भएकाले यहाँ हुने मूर्तीकार्यशालाले यसको प्रवद्र्धन गर्ने बताए ।
गौतमबुद्धले २९ बर्ष विताएको तिरौटाकोट दरवार सहित ७ वटा बुद्धका महत्वपूर्ण क्षेत्र भएर पनि ओझेलमा परेको बताउँदै अब कपिलबस्तुको विकास नरोकिने बताए । उनले सगरहवा सहित कपिलबस्तु नगरपालिकामा रहेका बुद्धकालिन स्थलहरुको संरक्षणका लागि लुम्बिनी विकास कोषसँगै प्रदेश र स्थानीय सरकारविच सहकार्य शुरु भएको समेत बताए । उनले सगरहवा प्राचिन शाक्यहरुको राज्य रहेकाले यसको विकाससँगै त्यहाँको पुरातात्विक महत्व पनि आम मानसिहरुलाई थाहा हुने बताए ।
लुम्बिनी कोषका कोषाध्यक्ष एंव मूर्ती कार्यशाला निर्देशक समितिका संयोजक सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले सगरहवा ऐतिहासिक र पुरातात्विक स्थल रहेको र यसको प्रवद्र्धनका लागि स्थानीयहरुको अपनत्व हुने गरि कार्यशाला गर्न खोजिएको बताए । गत वर्ष नै कार्यशालाको तयारीका कामहरु भइसकेको बताउँदै अब पुस २३ देखि माघ ८ गतेसम्म स्थानीय स्तरमा गठन गरिएको उपसमितिहरु लाग्न आग्रह गरे ।
बैठकमा कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल, वडा न. ९ का वडाअध्यक्ष दीपक थापालगायतले बोल्दै मूर्तीकार्यशाला सम्पन्न गर्नका लागि स्थानीय सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाए । बैठकमा विज्ञ समितिका संयोजक बौद्ध बिषयका विज्ञ पोमनारायण पौडेल, गुणाखर गैरे, पत्रकार भेषराज पाण्डेयले सगरहवाको ऐतिहासिकता ढुंगामा कुद्ने कार्यले पर्यटक आर्कषित गर्ने बताए ।
बैठकले उपसमितिहरुको नामावली अनुमदोन गरी पुस १५ भित्र बैठक बसेर कार्ययोजना पेश गर्नुपर्ने र पुस २२ गते पत्रकार सम्मेलन गर्ने निर्णय समेत गरेको लुम्बिनी विकास कोषका तिलौराकोट प्रमुख एंव कार्यशाला सचिवालय सचिव माधव प्रसाद आचार्यले जानकारी दिए । शाक्यमुनी बुद्धको जीवनको उतारार्धतिर कोशाला राज्यका राजा विरुढकले प्रतिशोधका कारण कपिलबस्तु राज्यका शाक्यहरुको बध गरेको स्थानका रुपमा सगरहवालाई चिनिन्छ ।
सगरहवामा सन् १८९७ मा नेपाल सरकारको तर्फबाट डा. फुरहरद्धारा गरिएको उत्खनन अन्वेषणमा ठूलो र वर्गाकार स्तुपको चारै दिशामा ससना स्तुपा र १७ वटा ठूला स्तुपा एंव मुख्य स्तुपाभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल लगायतका सामाग्री भेटिएको थियो ।