२०८१ श्रावण १२

पत्रकार समाजका अभिन्न अंग हुन्ः सभामुख घर्तीमगर
  • लुम्बिनी खोज
  • २०८० पुष १४, शनिबार १५:१८ गते

 

भैरहवा, १४ पुस ।
लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले पत्रकारहरु समाजको अभिन्न अंग भएको बताएका छन् । उनले पत्रकारिता र पत्रकारको संरक्षणमा राज्यले सधैं ध्यान दिनुपर्ने बताए । पत्रकारिता सुरक्षित हुनु भनेको गणतन्त्र र लोकतन्त्रको सुन्दर पक्ष रहेको उनले उल्लेख गरे । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको ९ औं स्थापना दिवसको अवसरमा शनिबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै सभामुख घर्तीमगरले आफू सधै पत्रकारको सुरक्षा र विकासको पक्षमा वकालत गर्दै आएको जनाए ।

लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ता (सीके) ले पत्रकारले कलमका माध्यमबाट गर्ने सकारात्मक आलोचनालाई सधैं नेतृत्व तहमा बस्नेले स्कीकार गर्दै कमीकमजोरी सुधारेर अघि बढ्नुपर्ने बताए ।

सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खानले पर्यटकलाई टिकाउनका लागी सवैले मिलेर काम गर्नुपर्ने बताए । सिद्धार्थनगर पर्यटकीय सहर बनाउन सबैको सहयोगको अपेक्षा गर्दै खानले पर्यटकलाई अतिथिको रुपमा व्यवहार गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्काले पत्रकारले पेशागत धर्म निभाउनु पर्ने बताए । उनले पत्रकारहरुले क्षमता वृद्धिका कार्य गर्नुपर्नेमा जोड दिँदै लुम्बिनी प्रेस क्लबले संचारक्षेत्रमा गरेको योगदान गर्विलो रहेको उल्लेख गरे ।
संचारकर्मीलाई संघीयता अझै नआएको तर्क गर्दै उनले सानो कामका लागि राजधानी जानुपर्ने बाध्यता रहेको बताए । लुम्बिनी प्रदेशमा संचारका कानुन नबन्दा संघीयताको महसुस पत्रकारलाई नभएको बताए । लुम्बिनी प्रदेशमा ५० प्रतिशत पत्रकारलाई ससम्मान बिदाइ गरेको बताउँदै खड्काले पत्रकारको शुद्धीकरणका लागि समेत पत्रकार महासंघले अभियान थालेको बताए । शुद्धीकरण संगसंगै क्षमता अभिबृद्धिका लागि समेत महासंघले भूमिका खेलेको बताए ।
नेपाल पत्रकार महासंघ, रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले पछिल्लो समयमा पत्रकार कति आलोचक र प्रशंसक हुने भन्नेमा सचेत नभएको बताए । पोखरेलले पत्रकार बढी लम्पसार र बढी आलोचक हुनबाट बच्नुपर्ने बताए ।
लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले क्लब सदैब गतिशिलरुपमा संचार क्षेत्रको विकास गर्न, विसंगतीविरुद्ध आवाज बुलन्द गर्न र समाज रुपान्तरणमा अघि बढेको जनाए । सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले सामुूहिकरुपमा गर्ने राम्रा कार्यलाई सबैले अपनत्व लिनुपर्ने बताइन् ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले राज्यले उद्योगीलाई बचाउने, लामो समय टिक्ने नीति बनाउनु पर्ने बताए ।
लुम्बिनी प्रेस क्लबका निबर्तमान अध्यक्ष नरेश केसीले लुम्बिनी प्रेस क्लब पत्रकारिताको क्षेत्रको विकास, विस्तार र सभ्यसमाज निर्माणमा क्रियाशिल भएको बताए ।
क्लबले आफ्नो ९औं स्थापना दिवसको अवसरमा भैरहवा–लुम्बिनी २२ किमी लामो बौद्ध संचार यात्रा र लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगिता गरेको थियो । कार्यक्रममा संचार यात्रामा सहभागीहरुलाई सम्मान गरिएको थियो । यस्तै, सहयोगी संस्था र प्रेस क्लबका संस्थापक पदाधिकारीलाई पनि सम्मान गरिएको थियो । २०७२ सालमा स्थापित क्लबमा भैरहवा, लुम्बिनी र धकधई क्षेत्रका ४० जना पत्रकारहरु आबद्ध छन् । क्लबले पत्रकारितासँगै समाजमा सकारात्मक सन्देश दिने खालका कार्यक्रम गर्दै आएको छ ।
पत्रकार शर्मालाई प्रेस रत्न, पछाईलाई प्रेसिडेन्टियल अबार्ड
यसैबीच लुम्बिनी प्रेस क्लबले आफ्नो ९ औं स्थापना दिवसको अबसरमा दुई जना पत्रकारलाई नगदसहित सम्मान गरेको छ । क्लबले ‘लुम्बिनी प्रेस रत्न २०८०’ बाट नगद २५ हजार राशीसहित प्रेस क्लबका सल्लाहकार मनोरञ्जन शर्मालाई सम्मान गरेको छ । त्यसैगरी प्रेसिडेन्टियल अवार्डबाट प्रेस क्लबका पूर्ब अध्यक्ष दिपेश पछाईलाई ११ हजार नगद राशी सहित सम्मान पत्रले सम्मानित गरिएको हो । दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकारद्वय शर्मा कारोबार दैनिकमा आबद्ध छन् भने पछाई मेचिकाली दैनिकमा आबद्ध छन् ।