२०८१ श्रावण १२

लुम्बिनी एक्स्पोको अवसरमा पर्यटनको चर्चा
  • लुम्बिनी खोज
  • २०८० पुष १७, मंगलवार १३:०२ गते

 

बुटवल १७ पुस ।
पर्यटनको राम्रो संभावना रहेको बुटवललाई पर्यटनसग जोडेर विकास गर्नुपर्नेमा जोड दिइएको छ । बुटवललाई पर्यटन सग जोडेर विकास गर्न सके पर्यटन क्षेत्रबाट बुटवलले लाभ लिन सक्नेमा पनि जोड दिइएको छ ।
बुटवलमा यही पुस ५ गतेबाट जारी लुम्बिनी एक्स्पोको अवसरमा रुपन्देही व्यापार संघले मंगलबार गरेको कार्यक्रममा सहभागीहरुले यातायातको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको बुटवल पर्यटनको ट्रान्जिट हब बन्न सक्ने राम्रा आधारहरु रहेको बताए । उत्तर तिर पाल्पा, पोखरा दक्षिण तर्फ बुद्ध जन्मस्थल लुम्बिनी रहेको बुटवलले पर्यटन क्षेत्रबाट राम्रो फाइदा लिन सक्ने सहभागिहरुले बताए । कार्यक्रममा लुम्बिनी प्रदेश पर्यटन परिषदका कार्यकारी अधिकृत रामु जोशीले बुटवल र आसपासमा पर्यटकीय सम्भावनाको ठाउँ भएपनि त्यसको उपयोग हुन नसकेको बताए । बुटवलले पर्यटकलाई के देखाउने हो प्रष्ट गुरुयोजना बनाउन आवश्यक रहेको बताए। ‘औसतमा ५ सय वटा गाडी सुनौलीबाट सिधै पोखरा गएको हुन्छ । पूर्व पश्चिम पनि यही प्वाइन्टबाट गएको हुन्छ तर बुटवल कहिले रेष्टिङ प्वाइन्ट भएन।’ जोशीले भने ‘बुटवलमा किन आउने पर्यटक, होटलमा बस्न मात्र आउँदैनन्। अब बुटवल उपमहानगरमा पर्यटन उपसमिति आवश्यक छ ।’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थल भैरहवाका महाप्रबन्धक हंसराज पाण्डेले पर्यटकीय विकासको लागि हवाइ यातायात मात्र नभइ स्थल मार्ग पनि सहज र सुगम हुनुपर्ने बताए । उनले भने ‘बुटवलको मुख्य ठाउँदेखी एयरपोर्टसम्म यहाँहरुले सुगम बस जोड्दिनुस्। विमानस्थलले के सहकार्य गर्नुपर्छ गछौं।’

नेपाल चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष टंक पोखरेलले पर्यटन प्रवद्र्धन सम्बन्धी बहस धेरै भएकाले अब ठोस कार्यक्रमका साथ अघि बढ्नुपर्ने उल्लेख गरे । बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराईले बुटवलको पर्यटकीय गुरुयोजना बनाउन संघ तयार रहेको बताए । रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले बुटवलमा पर्यटकीय वातावरण बन्नुपर्ने धारणा राखे ।
होटल संघ लुम्बिनीका महासचिव पुरुषोत्तम अर्यालले लुम्बिनी आएका पर्यटक मध्ये ७० प्रतिसत भन्दा बढि नबसी फर्किने भन्दै पर्यटकलाई भुलाउने ठाउँको जरुरी भएको बताए ।
मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधव नेपालले सरकारको अस्पष्ट नीतिका कारण पर्यटन क्षेत्र समस्यामा परेको उल्लेख गरे ।
बरिष्ठ पत्रकार डिआर घिमिरेले पर्यटकीय क्षेत्रको विकासको लागि गहन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
पत्रकार महासंघ रुपन्देहीका सल्लाकार दिनेश पाण्डेले पर्यटकलाई घुमाउन होटल व्यवसायीहरुले ठोस प्याकेज बनाउनुपर्ने उल्लेख गरे ।
बुद्ध परिपथ डटकमका पत्रकार सुदीप भण्डारीले बुटवलको फूलबारीमा पर्यटन सुचना केन्द्र स्थापना गरेर त्यस मार्फत यहाँका अन्य पर्यटकीय स्थलको पनि जानकारी दिनुपर्ने बताए। उनले फूलबारीमा शैक्षिक भ्रमणमा आएका विद्यार्थीलाई जितगढी देखाउन सके ऐतिहासिक स्थलको देशव्यापी प्रवद्र्धनमा सहज हुने धारणा राखे।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक सदस्य जीवन बन्जाडेले पर्यटन प्रवद्र्धनमा आफूहरु सहकार्य गर्न तयार रहेको भन्दै पर्यटकीय प्याकेज सहितको भिडीयो भएमा बसमा यात्रुहरुलाई देखाइने बताए ।
नेपाल पार्क महासंघका अध्यक्ष खेम लुइटेलले बुटवलको फूलबारी सँगै अन्य ठाउँलाई पनि जोडेर पर्यटकीय विकास गर्नुपर्ने धारणा राखे ।
लुम्बिनी एक्स्पो मूल आयोजक समितिका संयोजक कृष्ण प्रसाद घिमिरेको अध्यक्षतामा तथा पर्यटन समितिका सदस्य दिवाकर घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा एक्स्पोका पर्यटन उपसमिति संयोजक मनहरी बस्यालले गोष्ठीको उदेश्यमाथि प्रकास पारेका थिए। कार्यक्रममा, रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष मोति ज्ञवाली, डा. सागर न्यौपाने, बलबहादुर आचार्यलगायतले आफ्ना भनाइ राखेका थिए ।