२०८१ श्रावण १२

सगरहवा मूर्ति कार्यशाला शुरु
  • लुम्बिनी खोज
  • २०८० पुष २३, सोमबार १४:४४ गते

 उपाध्यक्ष डा. लामाले गरे उद्घाटन

लुम्बिनी,२३ पुस ।
कपिलबस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा प्रथम कपिलबस्तु राष्ट्रिय मूर्तिकार्यशाला २०८० सोमबारदेखि शुरु भएको छ । संविधानसभा सदस्य समेत रहेका लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले मूर्ति बनाइने ढुंगालाई हम्मर र छिनोले खोपेर शुभारम्भ गरेका हुन । लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, पर्यटन डिभिजन कार्यलय लुम्बिनी प्रदेश रुपन्देही सहित स्थानीय संघसंस्थाहरुको आयोजनामा कार्यशाला शुरु भएको हो ।
कार्यशालाको शुभारम्भ गर्दै उपाध्यक्ष डा. लामाले सगरहवा बुद्धकालिन समयमा शाक्यहरुको नरसंहार भएको स्थल भएकाले यसलाई अन्तर्राष्ट्रियकरण गर्न प्रत्येक वर्ष शान्ति पूजा गर्ने घोषणा गरे । उनले यो पटक मूर्तिकार्यशाला गरिएको बताउँदै आगामि बर्ष सगरहवामा भएको घटनाका बारेमा प्रचार गर्न कोष सहित स्थानीय सरकारसँग मिलेर विश्वशान्तिको कामना सहित महोत्सव गर्ने बताए । उपाध्यक्ष लामाले सगरहवा बुद्धको बंश शाक्यहरुमाथि भएको दुःखद घटनाका बारेमा बौद्धमार्गी र आम मानिसहरुमा जानकारी हुनुपर्ने बताउँदै यसका लागि प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्ने बताए ।
उनले महायाज्ञा र बज्रयानी बुद्धिष्टहरुले भारतको कलकत्तामा बार्षिक अर्बोको माछा तालमा छाड्ने गरेको बताउँदै अब सगरहवा र जगदीशपुल ताललाई विकल्पका रुपमा तयार गर्न सकिने बताए । उनका अनुसार बौद्धिष्टहरुले लामो आयुका लागि माछा पोखरीमा छाड्ने गर्छन । उपाध्यक्ष लामाले सगरहवा स्थानीयहरुकै कारण संरक्षण हुने बताउँदै मूर्तिकार्यशालाबाट कुँदिएका मूर्तिहरुको संरक्षणमा लाग्नुपर्ने बताए । उनले कपिलबस्तु ऐतिहासिक र पुरातात्विक स्थलहरु धेरै रहेको जिल्ला भएकाले यसको विकासका लागि लुम्बिनी विकास कोषले काम गरिरहेको बताए ।
उनले आफू उपाध्यक्ष भइसकेपछि तिलौराकोटलाई सरसफाईयुक्त बनाइएको र विश्वसम्पदा सूचीमा सुचीकृत गराउने काम अगाडि बढिरहेको बताए । उनले आफुहरु बुद्धभूमि कपिलबस्तुका ऐतिहासिक र पुरातात्विक स्थलहरुको विकासलाई प्राथिमकताका साथ गरिने बताए । कोष लुम्बिनीको गुरुयोजना पूरा गर्नका लागि केन्द्रीत हुँदा कपिलबस्तु र रामग्रामको विकासमा ध्यान केन्द्रीत कम भएको बताउँदै अब बढाइने बताए । कोषका कोषाध्यक्ष एंव कार्यशाला निर्देशक समितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले सगरहवामा शाक्य गणराज्यको उत्थान र पतनसंग गाँसिएका विभिन्न कथाहरुलाई मूर्तिमा कलाकारहरुले उतार्ने बताए । कार्यशालाबाट तयार भएका मूर्तीहरुले सगरहवाको ऐतिहासिक र पुरातात्विक महत्व उजागरसँगै पर्यटक आउने वातावरण बनाउने उनले बताए । उनले लुम्बिनी विकास कोषले कपिलबस्तुका बौद्धकालिन स्थानहरुको विकास गर्न अब प्राथमिकता दिने नीति लिएको बताए ।
कार्यक्रममा कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले मूर्तिकार्यशालाले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न निकै महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले कपिलबस्तु नगरपालिका ऐतिहासिक स्थल सगरहवा सहित यहाँका बौद्धकालिन क्षेत्रहरुको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए । उनले कपिलबस्तुलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि रामग्राममा जस्तै यहाँ पनि कार्यक्रम गर्न सुझाव दिए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख दिनेश्वर महतोले पुरातात्विक र ऐतिहासिक बिषयसँग जोडेर मूर्ति निर्माणको काम शुरु गरिएको बताए । उनले अरनिको स्मृती दिवसको अवसर पारेर ऐतिहासिक स्थलमा मूर्ति निर्माणको कामको थालनी हुनु निकै खुशीको कुरा भएको बताउँदै कलाको विकासमा सबैसँग जोडिएर अगाडि बढ्न चाहेको बताए ।
कार्यक्रममा कपिलबस्तु जगदीशपुर जलासय व्यवस्थापन बहुसरोकार मञ्च कपिलबस्तुका अध्यक्ष एंव कार्याशाला सचिवालय सदस्य देवेन्द्र कुमार पोखरेल, सचिवालय सदस्य देवेन्द्र कुमार पोखरेल, भन्ते सुमंगलो, दामोदर सापकोटा लगायतले बोल्दै सगरहवा आफैमा ऐतिहासिक स्थल भएकाले मूर्तिकार्यशालाले यस क्षेत्रको ऐतिहासिक पक्षलाई उजागर गर्दै पर्यटन प्रवद्र्धन गर्नेमा जोड दिए ।
कार्यशालाको अवसरमा लेखक पोमनारायण पौडेलद्धारा लिखित प्राचिन कपिलबस्तुको पतन र सगरहवा पुस्तकको विमोचन गरिएको छ । पुस्तकको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाले विमोचन गरेका हुन । कार्यशाला आगामि माघ ८ गतेसम्म सञ्चालन हुनेछ ।