२०८१ श्रावण १२

फ्रान्समा ३४ वर्षीय युवा प्रधानमन्त्री
  • लुम्बिनी खोज
  • २०८० पुष २५, बुधबार १३:२२ गते

बुटवल २५ पुस ।
गाब्रिअल अटल फ्रान्सका नयाँ प्रधानमन्त्रीमा चयन भएका छन्।
एमानुअल माक्रोँले आफ्नो राष्ट्रपति कार्यकाललाई नयाँ सरकारसहित पुनर्संरचना गर्न खोजिरहँदा उनको नियुक्ति भएको हो।
३४ वर्षीय गाब्रिअल अटल आधुनिक फ्रान्सको इतिहासमा प्रधानमन्त्री हुने सबैभन्दा कान्छा व्यक्ति हुन्।उनको उदय द्रुत गतिमा भएको छ । दश वर्षअघि उनी स्वास्थ्य मन्त्रालयमा प्रस्ट भूमिका नभएका एक सल्लाहकार र समाजवादी कार्यकर्ता मात्र थिए ।
यसअघि समाजवादी लरेन्ट फाबिअस सन् १९८४ मा ३७ वर्षका हुँदा प्रधानमन्त्री नियुक्त भएका थिए। अटल २० महिना काम गरेर राजीनामा दिएकी एलिसाबेथ बोर्नको उत्तराधिकारी बनेका छन्। आफ्नो कार्यकालभर उनले संसद्मा बहुमतको अभावसँग सङ्घर्ष गरेकी थिइन्। उनको नियुक्तिलाई राष्ट्रपतिद्वारा आफ्नो सरकारको जीवनमा प्राण भर्ने प्रयासको रूपमा हेरिएको छ।

सुधारसम्बन्धी शृङ्खलाबद्ध विवादहरूपछि सर्वेक्षणहरूले राष्ट्रपति माँक्रोले समर्थन गुमाइरहेको देखाएका छन्।
शिक्षामन्त्रीका रूपमा रहेका अटलले धेरैलाई अचम्मित पार्दै अगाडि गएका हुन्। अब उनीसँग जून महिनामा हुने महत्त्वपूर्ण युरोपेली संसद्को निर्वाचनमा फ्रान्स सरकारको नेतृत्व गर्ने दायित्व हुनेछ। उनी प्रधानमन्त्री कार्यालय सम्हाल्न पाउने पहिलो समलिङ्गी व्यक्ति हुन्।