२०८१ श्रावण १२

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामा र चिनियाँ राजदुत सोङविच भेटवार्ता
  • लुम्बिनी खोज
  • २०८० माघ ४, बिहीबार ०८:१४ गते

लुम्बिनी, ४ माघ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग विच विहिबार भेटवार्ता भएको छ । लुम्बिनी स्थित चिनियाँ विहारमा भएको भेटवार्तामा बृहत्तर लुम्बिनी क्षेत्रका बिषयमा छलफल भएको छ । भेटमा जापानीज बास्तुविद् केञ्जे टांगेले निर्माण गरेको गुरुयोजनाको पूर्णता, चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा आउने वातावरण बनाउने र लुम्बिनीको विकास र संरक्षण प्रवद्र्धनका सहकार्यका बिषयमा छलफल भएको उपाध्यक्ष डा. लामाले बताए ।
राजदुत सोङ्गले गुरुयोजनाका सन्दर्भमा चासो राखेपछि उपाध्यक्ष डा. लामाले पूर्णता दिने तयारीमा जुटेको बताएका थिए । लुम्बिनीको गुरूयोजना पूरा हुनासाथ कपिलबस्तु र रामग्राम क्षेत्रको विकासका लागि गुरूयोजना बनाउने योजनामा रहेको समेत उपाध्यक्ष डा. लामाले बताए । उनले बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि सहकार्यका लागि आग्रह गरे। भेटमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य राजेश शाक्य, श्याम रोक्काको उपस्थिती रहेको थियो ।

यसैविच चिनियाँ नयाँ बर्षको अवसर पारी बिहिबार नै चिनियाँ विहारमा प्रसाद वितरण कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. लामाले हजारौं चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा स्वागत गर्न आतुर रहेको बताए । राजदूत र भिक्षु गुरुलाई धन्यवाद दिदै उपाध्यक्ष लामाले भने ‘प्रत्येक दिन, प्रत्येक महिना हजारौं चिनियाँहरुलाई लुम्बिनीमा स्वागत गर्न पाउ, त्यो दिनको पखाईमा छौं।’ । उपाध्यक्ष लामाले आजकै दिन सुजाताले भगवान बुद्धलाई खिर खान दिएर ज्ञान प्राप्त गरेको बताउँदै यहि दिन खिर बाड्न पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा राजदुत सोङ्गले १५ सय बर्षअघि चिनियाँ यात्रीहरुले गरेको पैदल यात्रा र त्यही यात्रा वितान्तले लुम्बिनी पत्ता लगाउने सहयोग गरेको स्मरण गर्दै बुद्धजन्मस्थल जस्तो पवित्र स्थलमा आएर प्रसाद वितरण गर्न पाउदा निकै खुशी लागेको बताए । उनले नेपाल र चिनविचको सम्बन्ध हजारौं बर्षदेखि सुमधुर रहेको बताउँदै बुद्धले त्यसलाई थप जोडेको बताए । उनले विश्वमा अशान्ति भइरहेकाले बुद्धको शान्ति र अहिंसाको सन्देश सबैले ग्रहण गर्नुपर्ने बताए ।
कार्यक्रममा चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङले बुद्धले सुजाता खिर खाएर ज्ञान प्राप्त गरेको दिनमा लुम्बिनीमा आएर प्रसाद वितरण गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले राजदुत सोङ्ग, लुम्बिनी विकास कोषका उपाध्यक्षको उपस्थितीमा चिनियाँ भिक्षुभिक्षुणी र लुम्बिनीका स्थानीयको सहभागितामा प्रसाद बाड्न पाउनु आफ्नो लागि अविष्मरणीय बनेको बताए । उपाध्यक्ष सुङ चिनियाँ नयाँ वर्षको सन्दर्भ पारेर भिक्षुभिक्षुणी र तीर्थयात्रीहरुको टोली लिएर लुम्बिनी आएका हुन् । प्रसाद वितरण कार्यक्रममा बौद्ध विश्व विद्यालय, विभिन्न विद्यालय र स्थानीयबासीहरुलाई प्रसाद वितरण गरिएको थियो ।