२०८१ श्रावण १२

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय
  • लुम्बिनी खोज
  • २०८० माघ १६, मंगलवार ०९:३२ गते

बुटवल १६ माघ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ। बीबीसीका अनुसार त्यहाँको एउटा अदालतले खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय तोकेको छ।

उक्त मुद्दा वाशिङ्टन र इस्लामाबादबीचको कूटनीतिक दस्तावेजसँग सम्बन्धित छ। ती दस्तावेजहरू आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री थिए।
खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ध्वस्त पार्ने अमेरिकी षड्यन्त्र भएको दाबी गरेका थिए।

विश्वासको मत पाउन नसकेपछि सन् २०२२ मा उनी प्रधानमन्त्रीबाट हट्नुपरेको थियो।
खान भ्रष्टाचारको आरोपमा दोषी ठहर भएर अहिले तीन वर्षको जेल सजाय भोगिरहेका छन्।

इमरान खानले आफूमाथि लगाइएका सबै आरोपहरू राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताउँदै आएका छन्। गोपनीयतासम्बन्धी ऐनअन्तर्गत उनलाई उक्त सजाय तोकिएको हो। पाकिस्तानमा निर्वाचन हुनुभन्दा एक साताअघि खानविरुद्ध उक्त सजाय सुनाइएको हो।

उनलाई यो निर्वाचनमा उम्मेदवार हुन दिइएको छैन। फेब्रुअरी ८ मा पाकिस्तानमा निर्वाचन हुँदै छ। क्रिकेटबाट राजनीतिमा आएका खानलाई हालका सत्ताधारीले जसरी पनि चुनावमा भाग लिनबाट रोक्ने रणनीति अपनाएको कतिपयले बताउने गरेका छन्।