२०८१ श्रावण १२

बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १०, बिहीबार १५:१४ गते

 

बुटवल १० फागुन ।
बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बिहिबारदेखि बुटवल मण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको हो ।
यहि फागुनको १४ गतेसम्म सञ्चालन हुने मेलाको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले उद्घाटन गर्दै कृषि कर्म गरेका किसानलाई प्रोत्साहन र आवश्यक वातावरण बनाउन मन्त्रालय लागि परेको बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले कृषिमा राम्रो सम्भावना भएपनि उपयुक्त वातावरण बनाउन नसक्दा देशले लाभ लिन नसकेको बताए । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले कृषि क्षेत्रको विकासमा योगदान पु¥याउदै कृषिको व्यवसायीकरण एवं आधुनिकिकरणको लागि मेला आयोजना गरिएको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयकी सचिव डा नम्रता सिंह, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य केशव भण्डारी, संघका पुर्वअध्यक्ष खिमबहादुर हमाल, सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराम पोख्रेल, तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष बाबुराम भुसाल, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे लगायतले कृषि क्षेत्रको चर्चा गरेका थिए ।
२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक प्रदर्शनी गरेको बुटवल उद्योग वाणिज्य संघले २०६२ सालदेखि नियमित रुपमा विशिष्टिकृत कृषि मेला गर्दै आएको छ । सोही अनुसार यो मेला आयोजना गरिएको हो ।
पाँचदिनसम्म सञ्चालन गरिने मेलामा प्राङ्गारिक कृषिवस्तुको उत्पादन तथा प्रवद्र्धनमा जोड दिईने छ । त्यस्तै उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपन्ंछी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना प्रदान गरिने छ । प्राङ्गारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धतीको प्रवद्र्धन, कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेशिनरी सम्बन्धी जानकारी गराईने छ ।
कृषिमा आधारित उद्योगमा लगानी आकर्षित गर्ने तथा निर्यात योग्य वस्तुहरुको पहिचान र प्रवद्र्घन, कृषि, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन भण्डारण तथा बिक्री बितरणमा भएका उपलब्धीको जानकारी गराईने छ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा कृषिका अत्याधुनिक प्रबिधिको प्रदर्शनी, कृषि परिकार, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शन, कृषि सेवा सम्बन्धि ८८ वटा स्टल राखिएको छ ।
मेलामा जिवनाशक विषादि प्रयोग, प्रभाव र विकल्प, प्राङ्गारिक खेतीको लागि हालसम्मको प्रयास र उपलब्धी, मत्स्यपालन व्यवसाय, अवसर सम्भावना र चुनौती तथा कृषि बस्तुको बजारीकरण सम्बन्धि अन्तरक्रिया तथा छलफल गरिने छ । त्यस्तै कृषिसंग सम्बन्धित विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, कृषिसंग सम्बन्धित सांस्कृतिक सांगितक कार्यक्रम प्रस्तुत गरिने छ ।
त्यसैगरी मेलामा११ र १२ गते दुई दिन बाली परीक्षण शिबिर राखिने छ भने ११ गतेदेखि नै तीन दिन माटो परीक्षण शिबिर सञ्चालन गरिने संघका महासचिव तथा मेला सम्पादन समितिका सदस्य सचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए । निशुल्क प्रवेशको व्यवस्था मिलाईएको मेलामा २० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेका छन् ।