२०८१ श्रावण १२

राष्ट्रिय संकट र समाधानबारे सर्वपक्षीय अन्तरक्रिया
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १४, सोमबार १४:४१ गते

 

गुल्मी १४ फागुन ।
नेकपा गुल्मीले तम्घासमा सर्वपक्षीय अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा पोलिटब्युरो सदस्य एवं पश्चिम गण्डक व्युरो इन्चार्ज राजन सीले सरकार वा राज्यसंयन्त्रमा पात्रहरु बदलेर मात्रै राष्ट्रिय संकट समाधान नहुने बताउदै संसदीय व्यवस्था फालेर नेपाली विशेषताको समाजवादमा जानुपर्ने बताए । उनले मिसन ८४ जनताको आँखामा छारो हाल्ने र जनतालाई भ्रमदिने नाटक मात्रै भएको बताउदै अहिलेदेखि नै संसदीय व्यवस्थाको विकल्पमा सर्वदलीय र सर्वपक्षीय सहमतिद्धारा समाजवादको आधार निर्माण गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण सुनारले देशको राष्ट्रिय संकटबारे गाउँ स्तरसम्म छलफल गर्नुपर्ने बताउदै गणतन्त्र आइसक्दा पनि दलितहरुमाथि सामाजिक विभेद कायम रहेकोमा दुःख ब्यक्त गरे । नेकपा माओवादी केन्द्र गुल्मीका इन्चार्ज विरबहादुर कार्कीले अहिलेको संकटको कारण संविधानमा त्रुटि रहेको बताउदै समाधानका लागि दलहरु सच्चिनुपर्ने बताए । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीराम महतले देशको अहिलेको राष्ट्रिय संकट दलहरु स्वयं भएको बताउदै सबै सच्चिनुपर्ने बताए । राष्ट्रिय जनमोर्चाका जिल्ला नेता कमल अर्यालले गणतन्त्रले बोल्न मात्रै दिएको बताउदै संघीयता आवश्यक नभएको बताए । प्रदेश सभाका पूर्व सांसद गिता थापाले जनयुद्धले महिलाहरुलाई संसदमा पुर्याएको बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीका नेता कृष्ण पराजुलीले पुराना दलहरुप्रतिको निराशा छाएको धारणा राखे ।
रेसुंगा संरक्षण समितिको अध्यक्ष सुरेशचन्द्र भुसाल, बुद्धिजीवी दानबहादुर केसी, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष राजन पोखरेललगायतले आ आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा जिल्ला इन्चार्ज खोमा सीले अन्तरक्रियाको उद्देश्य, विषयबस्तु र महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी बसन्त सीले गरेका थिए । कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गरिएको थियो । केन्द्रीय कार्यक्रम अन्तर्गत नेकपाले सर्वपक्षीय अन्तरक्रिया सम्पन्न गरेको जनाएको छ ।