२०८१ पुष ६

लुम्बिनीमा अनलाईन टिकेटिङ
  • लुम्बिनी खोज
  • २०८० चैत्र १०, शनिबार १४:३१ गते

लुम्बिनी,१० चैत ।
लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि अनलाईन टिकेटिङ प्रणालीको शुभारम्भ गरेको छ । लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङले शनिबार लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी तीर्थालुहरुलाई मध्यनजर गरी तयार पारिएको अनललाईन टिकेटिङ प्रणालीको शुभारम्भ गरेका हुन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तामाङले सूचना प्रविधिको विकासमा अनलाईन मार्फत टिकेटिङ गर्ने कार्यले पर्यटकलाई सहजता थप्ने विश्वास गरे । उनले इटिकेटिङले कुनै पनि प्रकारको अनियमितता रोक्दै संस्थालाई पारदर्शी र पर्यटकलाई सहयोग गर्ने बताए । उनले लुम्बिनी विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र भएकाले यहाँ आउने धार्मिक र अन्य तीर्थयात्रुहरुलाई इटिकेटिङले आर्कषित गर्ने बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्यला लामा (खेन्पो छिमे) ले अनलाईन टिकेटिङले लुम्बिनीमा आउने पर्यटकहरुको संख्या समेत बृद्धि गर्ने विश्वास गरे । उनले लामो लाईन लागेर टिकट लिनुपर्ने वाध्यता अन्त्य गरी पर्यटकलाई सजिलो बनाउने काम गरिएको बताए । उनले लुम्बिनी बौद्धमार्गीहरुको मात्रै नभई विश्वका सबै धर्म सम्प्रदायले आस्था राख्ने भएकाले यसको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए । उनले विश्वभरका बौद्धमार्गीहरु लुम्बिनी आएर शान्ति र अहिंसाको सन्देश ग्रहण गर्नुपर्ने बताए ।
यस्तै लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले पर्यटकहरु लाईन लागेर टिकट काट्नुपर्ने समस्यालाई अन्त्य गरिएको बताए । नवनियुक्त मन्त्री पहिलो पटक लुम्बिनी आएको अवसरमा डिजिटल प्रणालीमा संस्थालाई लैजाने कार्यले सुशासन र पारदर्शीता कायम गर्नमा सहयोग पुग्ने कोषाध्यक्ष भट्टराईले बताए । मायादेवी दर्शनसँगै बृहत्तर लुम्बिनी क्षेत्र भ्रमणका लागि अनलाईन टिकेटिङले कोषको आम्दानीमा समेत बृद्धि हुने उनले बताए ।
लुम्बिनी विकास कोषको वेवसाईट डब्लु डब्लु डब्लु डट लुम्बिनीडेभट्रस्ट डट जीओभी डट एनपी लगइन गरेर इटिकेट्समा गएपछि टिकट काट्न सकिन्छ । मुख्यगरी विदेशीहरुले यसको उपयोग गर्ने कोषको विश्वास छ ।
उद्घाटन समारोहमा कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, कार्यकारिणी सदस्य रामनरेश कोहार, विश्वराज पौडेल, राजेश शाक्य, श्याम रोक्का, परिषद सदस्य गोपिकृष्ण शर्मा लगायतको सहभागिता थियो ।
इटिकेस्मा गएपछि नेस्नालिटी, व्यक्तिको संख्या, गाडी वा ट्याक्सी, क्यामेरा र फिल्म सुटिङका लागि भए त्यो अप्सन छनौट गरेपछि तोकिएको मूल्य भिस्सा कार्ड, बैंक, इसेवा र खल्ती एपबाट तिर्न सकिने व्यवस्था मिलाइएको कोषका लेखा प्रमुख भिम बस्नेतले जानकारी दिए । अहिले मायादेवी मन्दिर प्रवेश र तोकिएका अन्य सेवाका शुल्कहरु राखिएको उनले बताए । पेमेन्ट सहकार्य गरेको माछापुच्छ«े बैंकका चिफ डिजिटिल अफिसर माधव सुवेदीले घरबाटै सुविधा लिन सकिने र क्यूआरबाट विदेशी पर्यटकहरुले टिकट काट्न मिल्ने गरी सुविधा दिइएको बताए । उनले चिनियाँ पर्यटकहरुलाई विउ च्याट मार्फत सुविधा दिने गरी लुम्बिनी विकास कोषसँग बैंकले सहकार्य गरेको बताए ।
निकट भविष्यमा बृहत्तर लुम्बिनी क्षेत्रको भ्रमणका लागि नेपालीलाई न्यूनतम शुल्क लिने गरी अनलाईन टिकेट्स विकास गर्दै लगिने कोषको योजना रहेको छ । अवेकोड प्रालीले तयार पारेको अनलाईन टिकेट्सका लागि माछापुच्छ«े बैंक पेमेन्ट पार्टनरका रुपमा रहेको छ । लुम्बिनीमा २०६१ सालदेखि टिकट काट्न थालिएको हो । लुम्बिनीमा गत वर्ष बार्षिक १० लाख पर्यटक आएका थिए । कोभिडअघि २०१९ मा सबैभन्दा बढि १६ लाख बढि पर्यटक लुम्बिनी आएका थिए ।