२०८२ कार्तिक १८

बुटवलमा १४ माघदेखि कृषि मेला 
  • लुम्बिनी खोज
  • २०८२ कार्तिक १७, सोमबार १५:५१ गते

बुटवल १७ कात्तिक ।

बुटवलमा आगामी माघमा कृषि मेला हुने भएको छ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा कृषि मेला हुन लागेको हो। सोमबार बसेको कार्यसमिति बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म बुटवलको प्रदर्शनीस्थल ‘बुटवल मण्डप’मा कृषि मेला गर्ने निर्णय गरेको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले बताए।

बुटवल उद्योग वाणिज्य संघले कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि ०६२ सालदेखि विशिष्टीकृत कृषि मेला गर्दै आएको छ। संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले कृषि मेलालाई नमुना कृषि मेलाका रूपमा आयोजना गर्ने निर्णय गरेको हो। नेपालमा परम्परागत रूपमा हुँदै आएको कृषि प्रणाली पछिल्लो समय व्यावसायिक रूपमा सुरुवात भएको र यसलाई अझै कसरी वैज्ञानिक बनाउन सकिन्छ र कसरी प्रतिस्पर्धी क्षमताको विकास गर्न सकिन्छ भन्ने कुरामा विशेष ध्यान दिइने अध्यक्ष अर्यालले बताए।

उनका अनुसार कृषि प्रणालीको विकास र प्रवर्द्धनका लागि किसान, सेवा प्रदायक संस्थाहरू, उपभोक्ता र सरकारबिचको तारतम्य मिल्न आवश्यक छ। ‘मेलामा यी चार संयन्त्रको तारतम्य कसरी मिलाउन सकिन्छ भन्ने कुराको समेत खोजी हुनेछ,’ उनले भने। त्यसैगरी कृषिजन्य उत्पादनहरूको प्रदर्शनी, बिक्री–वितरण, कृषि प्रविधि, औजार तथा उपकरणको प्रदर्शनी तथा बिक्री–वितरण, किसान, उपभोक्ता, सेवा प्रदायक संस्थाहरू र सरकारबिच अन्तर्क्रियालगायतका कार्यक्रम गरिने उनले बताए।

त्यसैगरी कार्यसमिति बैठकले मजदुर नेता कमल गौतमको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बुटवलनिवासी जिफन्टका केन्द्रीय उपाध्यक्ष गौतमको यही कात्तिक १३ गते ट्रंकलाइन विवादमा भैरहवामा आयोजना गरिएको उद्योगीहरूको विरोध प्रदर्शनमा मन्तव्य राख्ने क्रममा बेहोस भई मृत्यु भएको थियो।