२०८१ आश्विन ६

विपद् व्यवस्थापन सम्बन्धी संयुक्त कृत्रिम अभ्यास प्रदर्शनी
  • लुम्बिनी खोज
  • २०८१ असार ७, शुक्रबार १४:०६ गते

बुटवल ७ असार ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले प्रकृति प्रकोपबाट हुने क्षतिलाई न्यूनिकरण गर्नका लागि जनस्तरमा नै सचेतनाको जरुरी रहेको बताएका छन् ।
लुम्बिनी प्रदेश सरकारको आयोजना तथा प्रदेश सुरक्षा निकायको समन्वय एवम् सहकार्यमा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त कृत्रिम अभ्यास प्रदर्शनीलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले बाढी, पहिरो डुबान र आगलागीबाट बार्षिक रुपमा ठुलो धनजनको क्षतिहुने गरेकाले यसको रोकथामका लागि प्रदेश सरकारले पूर्व तयारीका कार्यक्रमहरू गरिरहेको जानकारी दिए ।
हिमाल, पहाड र तराई भएको नेपालको भूगोलमा सबैतिर प्राकृतिक प्रकोप हुने गरेको छ । मुख्यमन्त्री महराले भने, ‘ पहाडमा पहिरो, तराईमा बाढी र डुबानले धनजनको क्षति पुराएको छ । आगलागी तथा अन्य प्राकृतिक प्रकोपलाई न्यूनिकरण गर्नका लागि राज्यको सयन्त्र सधै तयारी अवस्थामा रहनु पर्दछ ।
प्राकृतिक प्रकोपबाट सुरक्षित हुनका लागि सर्वप्रथम व्यक्ति आफै सचेत हुनुपर्ने भन्दै मुख्यमन्त्री महराले प्राकृतिक विपद्लाई ध्यानमा नराखी निर्माण गरिएका आवास तथा वस्ती जोखिममा रहेको औंल्याए ।
यातायात, सञ्चार, उद्धार उपकरण र तालिम प्राप्त उद्धारकर्ताका कारण विपद्का बेला उद्धार कार्य गर्न सहज भएको भन्दै मुख्यमन्त्री महराले उद्धारकार्यमा खटिनेहरु सँधै उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा खटिन आग्रह गरे ।
लमही नगरपालिका वडा नं. ६ मध्यनगर दाङमा शुक्रवार गरिएको विपद् कृत्रिम अभ्यास (अभ्यास हातेमालो–६) कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले बाढी, पहिरो, डुबानबाट लुम्बिनी प्रदेश जोखिमपूर्ण रहेको बताए ।
विपद् संग सरोकार राख्नेहरू, सुरक्षाकर्मी, स्थानीय जनसमुदायहरू र तालिम प्राप्त उद्धारकर्ताहरूको सघन सहकार्य नै विपद्को समयमा उपयोगी हुने मन्त्री पन्थीले बताए ।
कार्यक्रममा मध्यपश्चिम पृतनापति उपरथी सुनिल श्रेष्ठले सामयिक सहकार्य समन्वय, विद्यमान नीति नियमको परिधिमा रहेर विपद्को क्षेत्रमा काम गरिने बताए । उनले एकीकृत विपद् कृत्रिम अभ्यासले कार्यक्षेत्रमा काम गर्दा एकरूपता आउने बताए ।
विपद् व्यवस्थापन सम्बन्धी संयुक्त कृत्रिम अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले विपद्का बेला गर्नुपर्ने कार्यहरूको विभिन्न प्रदर्शनी गरेर देखाएका थिए ।
लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकाल, स्थानीय सरकारका जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय सरोकारवाला निकायको कार्यक्रममा उपस्थित रहेको थियो ।