२०८३ भाद्र ११
जनै पूर्णिमाका दिन झण्डै ८ लाख जनै एकै स्थानमा अभिमन्त्रित गरिने
बुटवल, ।
बुटवलमा युवाहरूले स्थापना गरेको हरि ॐ पूजा सामग्री उद्योगले यस वर्ष १८ लाख जनै उत्पादन गरेको छ । शास्त्रीय विधि र परम्पराअनुसार पूर्ण सरा र शिखासहित तयार गरिएका जनैमध्ये करिब १० लाख बजारमा पठाइसकिएको छ भने जनै पूर्णिमाका दिनसम्म करिब ८ लाख जनै एकै स्थानमा अभिमन्त्रित गर्ने तयारी गरिएको छ ।
बुटवलका ज्योतिष जनार्दन न्यौपानेसहित सुन्दर भण्डारी र लोकप्रसाद काफ्लेले स्थापना गरेको उद्योगले स्वदेशमै शास्त्रीय विधि र परम्पराअनुसार जनै उत्पादन गर्दै आएको छ । जनै उत्पादन बढेसँगै विदेशी जनैको आयात घटाउनसमेत उद्योगले योगदान पु¥याएको सञ्चालकहरूको भनाइ छ । यहा जनैसगै रक्षाबन्धन पनि उत्पादन हुने गरेको छ ।
नेपालमा मात्र नभई विदेशमा रहेका नेपालीसम्म स्वदेशी उत्पादनका जनै पु¥याउने उद्देश्यले उद्योग सञ्चालन गरिएको सञ्चालकहरु बताउछन् । ज्योतिष न्यौपाने उद्योगबाट उत्पादित जनैको माग पछिल्लो समय बढ्दै गएको बताउछन् ।
उद्योग स्थापना गर्ने तीन जनामध्ये काफ्ले १५ वर्षसम्म वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा बसेका थिए । वैदेशिक रोजगारीबाट फर्किएपछि उनी उद्योगमा जोडिएका हुन् । उद्योग सञ्चालनमा आएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा धेरैले रोजगारीसमेत पाएका छन् ।
उद्योगले उत्पादन गरेको ‘संस्कार जनै’ नेपालका विभिन्न स्थानमा बिक्री हुनुका साथै विदेशमा समेत निर्यात हुँदै आएको छ । सञ्चालक सुन्दर भण्डारीका अनुसार उद्योगले ५४ सरासहित पूर्ण सरा तथा शिखासहितका जनै उत्पादन गरी नेपाल तथा विदेशमा पठाउँदै आएको छ ।
विदेशबाट आयात हुने अधिकांश जनैमा शास्त्रीय विधि र परम्पराअनुसार पूर्ण सरा तथा शिखा नहुने भएकाले स्वदेशमै परम्परागत विधिअनुसार तयार गरिएको ‘संस्कार जनै’ नेपालीको रोजाइमा पर्न थालेको भण्डारीले बताए ।
उनका अनुसार उद्योगले उत्पादन गरेको जनैको बजार मेचीदेखि महाकालीसम्म विस्तार भएको छ । नेपालमा मात्र नभई युरोप र अमेरिकासहित १० वटा देशमा समेत यहाँ उत्पादित जनै पुगिसकेको उनले जानकारी दिए ।
छ वर्षदेखि जनै उत्पादन गर्दै आएको उद्योगले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै विदेशी जनैको आयात घटाउने लक्ष्य राखेको छ । सञ्चालक लोकप्रसाद काफ्लेका अनुसार जनैको कतुवा बाट्ने काम मेसिनबाट गरिन्छ भने शिखा पार्ने काम गाउँगाउँमा रहेका व्यक्तिहरूमार्फत हुँदै आएको छ ।
यसबाट करिब १५० जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएको काफ्लेले बताए । जनै पूर्णिमामा मात्र नभई वर्षभरि पूजा तथा विभिन्न धार्मिक संस्कारमा जनै आवश्यक पर्ने भएकाले उद्योगले नियमित रूपमा उत्पादन गर्दै आएको छ।
