२०८१ आश्विन ४

तनहुँ बस दुर्घटनाः मर्स्याङ्दी नदीमा खसेको बसमा सवार २७ जनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८१ भाद्र ७, शुक्रबार १३:५८ गते

बुटवल ७ भदौ ।
तनहुँ जिल्लामा भएको बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ । मर्स्याङ्दी नदीमा खसेको बसमा सवार २७ जनाको मृत्यु भएको हो । तनहुँ जिल्लास्थित आँबुखैरेनीनजिकै शुक्रवार बिहान मर्स्याङ्दी नदीमा खसेको बसमा सवार कम्तीमा २७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर अवस्थामा रहेका १६ घाइतेलाई सेनाको उक्त हेलिकप्टरबाट उपचारका लागि काठमाण्डू पठाइएको छ। उनीहरूलाई महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ।

उक्त बस नेपालको रूपन्देही जिल्लाको बेलहिया नाका हुँदै गत भदौ ४ गते नेपाल प्रवेश गरेको हो । उक्त बस पोखराबाट काठमाण्डूतिर जाँदै गर्दै आँबुखैरेनीको ऐनापहरानजिकै सडकबाट तल खसेको थियो।
घाइतेमध्ये केहीको उपचारको क्रममा वा उपचार गर्न पठाउँदै गर्दा बाटोमा मृत्यु भएको हो।

दुर्घटना आज बिहान ११ बजेतिर भएको हो। सडकबाट तल खस्दा बसको छत छुट्टिएको छ।
केशरवानी परिवहनको उक्त बस गोरखपुरबाट नेपाल आएको हो। बसमा चालक र सहयोगीबाहेक ४० जनाजति यात्रु भएको प्रहरीले जनाएको छ।
सबै यात्रुहरू भदौ ४ गते भैरहवास्थित एउटा होटलमा बसेका थिए। उनीहरूलाई लिएर बस भोलिपल्ट बिहान पोखरातिर गएको थियो ।
महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले ुएक्सुमा एक पोस्ट गर्दै उनीहरूमध्ये अधिकांश आफ्नो राज्यअन्तर्गत जलगाउँ जिल्लाका रहेको बताएका छन्। आवश्यक समन्वयका लागि स्थानीय प्रहरी अधिकारीहरू उत्तर प्रदेश हुँदै नेपाली सीमासम्म आउने र राज्य सरकारले पनि नेपाल सरकारसँग समन्वय गरेर घाइतेहरूको उपचारको व्यवस्था मिलाउने उनले बताएको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार यसैबीच काठमाण्डूस्थित भारतीय राजदूतावासले पनि स्थानीय अधिकारीहरूसँग समन्वय भइरहेको बताएको छ।