२०८३ भाद्र ९
सरसफाइमा समुदाय र विद्यार्थीको भूमिका महत्वपूर्ण : वक्ताहरू
बुटवल, ९ भदौ ।
बुटवल उपमहानगरपालिका र मैनादेवी फाउन्डेसनको सहकार्यमा नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयद्वारा सञ्चालित वातावरण प्रिमियर लिग (इपीएल) अन्तर्गत अन्तिम सप्ताहको कार्यक्रम मंगलबार सम्पन्न भएको छ।
अन्तिम सप्ताहअन्तर्गत ‘बुटवलको सरसफाइ व्यवस्थापनमा समुदाय र विद्यार्थीको भूमिका’ विषयमा वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरिएको थियो।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले सरसफाइ व्यवस्थापनमा विद्यार्थी र समुदायको भूमिका महत्वपूर्ण हुने बताइन्। उनले उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा विद्यालयको वरिपरि १०० मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ तथा मदिराको बिक्री–वितरणमा रोक लगाइएको जानकारी दिइन्।
उनले तिनकुनेदेखि चौपारीसम्मको क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको उल्लेख गर्दै फोहोर व्यवस्थापनका लागि सबैभन्दा पहिले डस्टबिनको प्रयोग गर्नुपर्ने र प्लास्टिकजन्य झोलाको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइन्।
बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले इपीएलमार्फत लामो समयदेखि फोहोर संकलन, व्यवस्थापन र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी बुटवललाई सफा र सुन्दर बनाउन योगदान गरेको भन्दै मैनादेवी फाउन्डेसन र विद्यालयलाई धन्यवाद दिए। उनले सरसफाइ अभियानलाई निरन्तरता दिन आग्रह गरे।
मैनादेवी फाउन्डेसनका आधिकारिक प्रतिनिधि तपेश जैसीले इपीएलमा नवीन औद्योगिक माध्यमिक विद्यालयको सक्रिय सहभागिता प्रशंसनीय रहेको बताए। विद्यालयले सञ्चालन गरेका सबै कार्यक्रम प्रभावकारी र उत्कृष्ट रहेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे।
वातावरण इन्जिनियर योगेश चापागाईंले फोहोर व्यवस्थापनका लागि सबैभन्दा पहिले फोहोरको वर्गीकरण गर्नुपर्ने बताए। फोहोरबाट विभिन्न उपउत्पादन तयार गरी आयआर्जन गर्न सकिने भन्दै उनले पुनः प्रयोग गर्न मिल्ने सामग्रीको प्रयोग र रिसाइकलिङमा जोड दिए। फोहोर व्यवस्थापन एक व्यक्तिले मात्र गर्न नसक्ने भएकाले सबैको सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो।
वक्तृत्वकलामा अनिषा प्रथम
इपीएलअन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीबीच आयोजित वक्तृत्वकला प्रतियोगितामा कानुन समूह कक्षा ११ की अनिषा बन्जाडे प्रथम भएकी छन्। त्यस्तै कानुन समूह कक्षा ११ की मोनिका पुन द्वितीय, ईसा गैरे तृतीय र शिक्षा समूह कक्षा १२ की कृषला भण्डारी सान्त्वना भएकी छन्।
विजेता विद्यार्थीलाई बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन्। प्रतियोगिताको मूल्याङ्कन समितिमा रामप्रसाद ज्ञवाली, अम्बिका न्यौपाने घिमिरे र इपीएलका फोकल पर्सन नीलकण्ठ न्यौपाने रहेका थिए।
कार्यक्रम कक्षा १२ शिक्षा समूहका विद्यार्थी विजय क्षेत्रीको अध्यक्षता तथा व्यवस्थापन समूह कक्षा १२ की विद्यार्थी सरिश्मा श्रेष्ठको सञ्चालनमा भएको थियो। कक्षा १२ विज्ञान समूहका विद्यार्थी प्रमोद आचार्यले कार्यक्रमको औचित्यमाथि धारणा राखेका थिए भने विद्यार्थी अप्सना क्षेत्रीले नृत्य प्रस्तुत गरेकी थिइन्।
चार सातासम्म सरसफाइ र जनचेतना
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार इपीएलअन्तर्गत पहिलो सप्ताह साउन ९ गते लुम्बिनी बस टर्मिनलमा सरसफाइ तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो।
दोस्रो सप्ताहमा देवीनगर र माझगाउँ क्षेत्रमा सरसफाइ गरी समुदायसँग सरसफाइसम्बन्धी अन्तरक्रिया गरिएको थियो। साउन १६ गते विद्यालयको सभा हलमा अन्तरक्रिया आयोजना गरिएको थियो भने साउन २३ गते देवीनगर क्षेत्रमा सरसफाइ, जनचेतनामूलक कार्यक्रम तथा वातावरणसम्बन्धी तीज गीत प्रतियोगिता देवीनगर चौपारीमा गरिएको थियो।
चौथो सप्ताहमा पञ्चेबाजासहित राजमार्ग चौराहा क्षेत्रमा सरसफाइ, नाटक प्रस्तुति तथा नकुहिने वस्तुबाट निर्मित सामग्री प्रदर्शन गरिएको थियो। उक्त कार्यक्रम बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रधानाध्यापक बस्नेतले जानकारी दिए।
इपीएलले विद्यार्थीलाई सरसफाइ तथा वातावरण संरक्षणमा प्रत्यक्ष सहभागी गराउँदै समुदायमा वातावरणीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ।




