२०८१ आश्विन ३

म सच्चिन चाहन्छु, सक्किन चाहान्न्ः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २५, मंगलवार ०९:५७ गते

दाङ २५ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि मिडिया क्षेत्रबाट निरन्तर खबरदारी गर्न आह्वान गरेका छन् । उनले तथ्यमा आधारित भएर सुशासन, पारदर्शीता, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागी मिडिया क्षेत्रबाट खबरदारी गर्न आह्वान गरे ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा मंगलबार घोराहीमा मिडिया मन्थन पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तथ्यमा आधारित भएर सुधारका लागि आलोचना गर्न आह्वान गरे । तथ्यमा आधारित भएर आलोचना गर्नुस् । हामी सच्चिन तयार छौं, आलोचना गर्न नडराउनुस,–उनले भने,– म सच्चिन चाहन्छु, सक्किन चाहान्न् । तथ्यमा आधारित आलोचनाबाट सच्चिएर अघि बढ्ने उनले बताए ।
राजनीतिक स्थायित्व कायम गर्न, आर्थिक अवस्था सुधार गर्न संयुक्त सरकार बनेको र वर्तमान सरकारले जनतामा आशा जगाउन मुख्यमन्त्री र मन्त्रीका नामा हुने फजुल खर्च नियन्त्रण गर्न आचारसंहिताको बन्धनमा राखिएको पनि बताए ।
पूर्व बिशिस्ट व्यक्तिको नाममा सरकारको ढुकुटीबाट सेवा सुविधा दिने निर्णय फिर्ता गरेर जनतामा आशा जगाउने काम सरकारले गरेको भनाइ पनि उनले राखे ।
उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गरे ।
पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डाक्टर विकास लामिछाने, नेपाल पत्रकार महासंघका संस्थापक टिकाराम रेग्मी, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगर, नेपाल संस्कृति विश्व विद्यालयका रजिस्ट्रार माधव अधिकारी, तुलसीपुर उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष देवबहादुर केसी, राप्ती साहित्य परिषदका अध्यक्ष टिकाराम उदासी, नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदी, नेकपा माओवादी केन्द्रका सचिव विश्वराज आचार्यलगायतले समाजलाई सहि दिशा प्रदान गर्न मिडियाको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिएका थिए ।