२०८१ आश्विन ४

व्यवसायीकरण र यान्त्रिकरण बाट कृषिमा परिवर्तनः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २८, शुक्रबार ०७:३६ गते

दाङ २८ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकासको लागि व्यवसायीकरण र यान्त्रिकरण जरुरी रहेको बताएका छन् । बिपि चिन्तन प्रतिष्ठान लुम्बिनी प्रदेशले दाङको लमही स्थित पृथु टेक्निकल कलेजमा शुक्रवार गरेको नेपालमा कृषि क्रान्ति, सम्भावना र चुनौती बिषय बिचार गोष्ठीमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले व्यवसायीक कृषिका लागि कार्यक्रमहरु अघि बढाएपनि युवा पुस्ता आकर्षित हुन नसक्नु समस्याको रुपमा रहेको चित्रण गरे । यसका लागी राजनीतिक दलहरुले अब स्वदेशमा नै अवसरहरुको सृजना गर्नेगरी नितिगत भूमिका बढाउनुपर्ने धारणा राखे ।
प्रदेश सरकारले कृषि क्षेत्रको विकास गर्न नव प्रवर्तनका योजनाहरु अघि बढाएको उनले बताए । कृषिलाई उद्यम र उद्योगको रुपमा विकास गर्न नव प्रवर्तन कार्यक्रमहरु अघि बढाएको उनको भनाइ छ । लुम्बिनी प्रदेश कृषि उत्पादनको दृष्टिकोणले प्रचुर सम्भावना रहेको बताउदै उनले तीन वटा भूगोललाई जोडेर अघि बढ्ने योजना सुनाए ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अब राजनीतिक दलहरुले युवालाई स्वदेशमा उद्यम गर्न प्रेरित गर्नुपर्ने र सोही अनुसार कार्यक्रम निर्माण गर्ने बताए । मुक्तिनाथ कृषि कम्पनी लि लुम्बिनी प्रदेशका प्रमुख निर्मल भुसालले कृषिलाई बैज्ञानिक र सांस्कृतिक रुपमा बुझ्नुपर्ने बताए ।
महेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अगुवा किसान लगायत बुद्धिजीवीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा विपि चिन्तन प्रतिष्ठानका सहअध्यक्ष पुष्पराज पराजुली, नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष रीता केसी, गोरखा सिड कम्पनीका विउ उत्पादन अधिकृत सागर खनाल, कांग्रेसका प्रतिनिधि लिलाराम खनाल लगायतले छलफलमा भाग लिएका थिए ।