२०८३ आश्विन ३०
सुलभ खरेलले गरे ठूला विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया, पूर्वाधारदेखि विद्यार्थीको सीप विकाससम्मका विषयमा छलफल
बुटवल, ३० असोज ।
सामुदायिक विद्यालयमा गुणस्तरीय, आधुनिक तथा प्राविधिक शिक्षाको विकास गर्ने उद्देश्यले रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सुलभ खरेलको अगुवाइमा बुटवलमा अन्तरक्रिया कार्यक्रम गरिएको छ। शुक्रबार सम्पन्न कार्यक्रममा क्षेत्रका ठूला सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग विद्यालयको शैक्षिक गुणस्तर सुधार, व्यवस्थापकीय चुनौती र विद्यार्थीको क्षमता विकासका विषयमा छलफल गर्दै सुझाव संकलन गरिएको हो।
अन्तरक्रियामा सांसद खरेलले सामुदायिक विद्यालयलाई समयअनुकूल, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए। विद्यालयमा अध्ययनरत विद्यार्थीको उमेर समूह र क्षमताअनुसार प्रतिभा पहिचान गर्ने, विदेशी विद्यार्थी तथा विज्ञसँग सहकार्य गरी भाषा सिकाइलाई प्रभावकारी बनाउने र इन्टरनेटको माध्यमबाट आयआर्जन गर्न सक्ने सीप विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो।
उनले विद्यार्थीलाई पढाइसँगै व्यावहारिक ज्ञान र रोजगारीका अवसरसँग जोड्नुपर्ने बताउँदै विद्यालयमा क्यारियर काउन्सिलिङको व्यवस्था गर्नुपर्ने धारणा राखे। सामाजिक सञ्जाललाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी सीप विकास र आयआर्जनका लागि उपयोग गर्न सकिने वातावरण बनाउनुपर्नेमा पनि उनले जोड दिए।
परम्परागत घोकन्ते परीक्षा प्रणालीमा सुधार गरी विद्यार्थीको सिर्जनशीलता, व्यावहारिक ज्ञान र क्षमताको मूल्याङ्कन गर्ने खुला तथा वैकल्पिक परीक्षा प्रणालीमा ध्यान दिनुपर्ने खरेलले बताए। विद्यालयका पूर्वविद्यार्थीको सञ्जाल (एल्मुनाइ एसोसिएसन) लाई सक्षम र सक्रिय बनाउँदै विद्यालयको विकासमा उनीहरूको ज्ञान, अनुभव र स्रोत परिचालन गर्न सकिने विषय पनि छलफलमा उठाइएको नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले जानाकारी दिए ।
कार्यक्रममा शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकनाथ कँडेल, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, कान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली, कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवाली तथा सैनामैना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ की संयोजक लत्ता खड्कालगायतले विद्यालयका समस्या र चुनौतीबारे धारणा राखेका थिए।
प्रधानाध्यापकहरूले विद्यालयमा भौतिक पूर्वाधारको अभाव, आर्थिक व्यवस्थापनमा देखिएका जटिलता, व्यवस्थापकीय चुनौती र शैक्षिक गुणस्तर अभिवृद्धिमा पूर्वाधार अभावले पारेको प्रभावबारे जानकारी गराएका थिए। सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि पर्याप्त स्रोतसाधन, प्रभावकारी व्यवस्थापन र राज्यको सहयोग आवश्यक रहेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीका सभापति महेन्द्रप्रसाद उपाध्याय र सांसद खरेलका सचिवालय संयोजक बाबुराम आचार्यलगायतको सहभागिता थियो।

