२०८१ कार्तिक ७

वीपी कोइराला स्मृति कपः भारतको लाइफ केयर र बंगलादेशको साईक्यू विजयी
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक ४, आईतवार १२:२६ गते

भैरहवा, ४ कार्तिक ।
रुपन्देहीको भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट क्लब र बंगलादेशको साईक्यू क्रिकेट एकेडेमी विजयी भएका छन् । आइतबारको खेलमा नेक्सस रुपन्देही–११ नेपाललाई ७ विकेटले पराजित गर्दै लाइफ केयर भारतले लगातार दोस्रो जित निकालेको हो । साईक्यूले भने पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई ४२ रनले पराजित गरेको हो । प्रतियोगितामा साईक्यूले विजयी सुरुवात गर्दा पाकिस्तान भने लगातार दुई खेलमा पराजित हुन पुगेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेक्ससले निर्धारित खेलमा ७ विकेट गुमाएर १ सय ३३ रनको मध्यम योगफल बनायो । नेक्ससका लागि आकाश त्रिपाठीले ४८, सुमित महर्जन र वसिर अहम्मदले समान २८–२८ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा भारतको लाइफ केयरका योगेश कुमारले ३ तथा शुभम लाम्रा, हिमांसु र विपुल कम्बोजले समान १–१ विकेट लिए ।
१ सय ३४ रनको लक्ष्यसहित मैदानमा उत्रिएको भारतको लाइफ केयरले १६ ओभर ३ बलमा ३ विकेटको नोक्सानीमा १ सय ३७ रन बनाउँदै सहजै लक्ष्य पूरा गर्यो र जित निकाल्यो । उसको जितमा दीपक पुनियाले अर्धशतकीय पारी खेल्दै ४३ बलमा ३ छक्का र ५ चौकाको मद्दतमा ६० रन जोडे । यस्तै, राजेश शर्माले नटआउट ३७ र विपुल कम्बोजले ३२ रनको योगदान दिए । बलिङमा नेक्सस नेपालका साहब आलमले २ तथा वसिर अहम्मदले १ विकेट लिए । खेलमा भारतको लाइफ केयरका दीपक पुनिया म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।
दोस्रो खेलमा सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साईक्यूले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ४७ रनको लक्ष्य प्रस्तुत गर्यो । उसका लागि मुल्लरले ४६, मुनिम सानरिअरले २७, शौरभले अविजित २५, रानाले १७ र फैसालले १४ रन बनाए । बलिङमा जावेद गोहारका रिशभ जोशीले ३, इमरान नाजिर र अब्बास अलीले २–२ तथा अहाब अली र सामोहले समान १–१ विकेट लिए ।
पाकिस्तानको जावेद गोहारले जवाफी ब्याटिङ गर्दै १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ५ रनमै समेटियो । उसका लागि अली हुसेनले ३४, जिम खानले १९, सामोहले १८ र रिशभ जोशीले १० रन बनाए अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीमले हार व्यहोर्यो । बलिङमा उसलाई सस्तैमा रोक्न बंगलादेशको साईक्यूका सोमराटले ३, राकिव र मुल्लारले २–२ तथा एकस, शाहबाज र शाकिवले समान १–१ विकेट हात पारे । साईक्यूका मुल्लर म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ पाए ।
नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भरतबहादुर शाहीले जनाए । प्रतियोगितामा दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल गरी पाँच देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागी छन् ।