२०८१ पुष ७

बौद्ध र लुम्बिनी सर्किटको अवधारणा अगाडी सारेका छौंः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८१ पुष ६, शनिबार १५:१० गते

बुटवल ६ पुस ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताएका छन् । रुपन्देहीको देवदहमा गौतमबुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको शनिबार उद्घाटन गर्दै उनले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र सिंगो प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्नेगरी सरकारले अवधारणा अघि सारेको बताए।
प्रदेश सरकारले बृहत लुम्बिनी पर्यटन सर्किटको अवधारणालाई समेत प्राथमिकतामा राखेको छ । तीन जिल्लालाई बौद्ध सर्किट र सिंगो प्रदेशलाई लुम्बिनी सर्किटको आधारमा विकास गरिने उनको भनाइ छ। ‘प्रदेश सरकारले बौद्ध सर्किटको गुरुयोजना बनाउछ । तिलौराकोट देखी नवलपरासीको रामग्राम सम्मका सम्पदाहरुलाई जोड्नेगरी पर्यटन पूर्वाधार निर्माण गरिन्छ’उनले भने,‘लुम्बिनी आउने पर्यटकलाई एक अर्कासंग जोड्नेगरी यो अवधारणा हामिले अघि सारेका हौं । बृहत रुपमा लुम्बिनी सर्किटको अवधारणा छ ।’
पर्यटकीय स्थलहरुलाई नवीतम रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षीत गर्नेगरी अघि बढाउन आवश्यक रहेको भनाई उनको छ । पार्कहरुमा सिमेन्टबाट बन्ने संरचनालाई निरुत्साहित गर्दै स्थानीय काठ तथा सामाग्रीको प्रयोग गरेर कलात्मक आकृती तथा पर्यटन पूर्वाधार निर्माण गरिनुपर्ने उनले बताए ।‘यहाँको पार्कमा जुन कलात्मक सृजना देखियो । अन्य पार्कहरुमा पनि यहाँको सिकाई हस्तान्तरण गर्न जरुरी छ । काठ र स्थानीय सामाग्रीको प्रयोग गरेर आकृती बनाउन जरुरी छ । यसमा प्रदेश सरकारले पनि पहल लिन्छ ।’, उनले भने ।
प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माण देखी कार्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा लगेको पनि उनले बताए । बर्दियमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षीत गर्न घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरेको बताउदै अव देवदहमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षीत गर्न प्रचारप्रसार अभियानलाई तिब्र पार्न आह्वान गरे ।
बुद्ध सामुदायिक वन उपभोक्ता समुहले वन, वातावरण तथा जैविक विविधता संरक्षणका साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठबाट विभिन्न आकृती निर्माण गरेर प्रदर्शनीमा राखेको छ । ४९ हजार सात सय ५२ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन वि.सं. २०५६ सालमा स्थापना भएको थियो । २०६९ सालमा कार्ययोजना स्वीकृत भएर अघि बढेको सामुदायिक वनमा अहिले चार हजार ९ सय ९३ उपभोक्ता प्रत्यक्ष जोडिएका छन् ।