२०८२ बैशाख २७
बुटवल २० माघ ।
रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आइतबार छात्रवृत्ति वितरण गरिएको छ । यहा अक्षयकोष दाताहरुले ६५ वटा छात्रवृत्ति अक्षय कोष स्थापना गरेका छन् । ती अक्षयकोषको करीव १ करोड १७ लाखको मुल धनबाट छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ । पढाई तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा दिने तथा अभिभावक विहिन बालबालिकाहरुलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्यले जानकारी दिए । विद्यालयका शिक्षक दिनेश खड्काका अनुसार झण्डै एक हजार विद्यार्थीले विभिन्न छात्रवृत्ति पाएका छन् । शान्ति नमुनामा करिब ६ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालयले सञ्चालन गरेका गतिविधिहरुको बारेमा अवगत गराउँदै पुण्य कार्यमा योगदान पु¥याउने अक्षयकोषदाताहरुलाई आभार व्यक्त गरे । विद्यालयका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले शिक्षा क्षेत्रका बारेमा धारणा राखेका थिए । कार्यक्रम कक्षा ११–१२ का संयोजक राजेन्द्र के.सी. ले सञ्चालनमा सम्पन्न भएको थियो ।
यसअघि आइतबार बिहान प्रभातफेरि कार्यक्रम गरिएको छ । विद्यालयमा क्रियाशिल १७ वटा क्लवको सहभागितामा मणिग्राम आसपासमा प्रभातफेरि कार्यक्रम गरिएको संयोजक रजनी के.सी. ले जानकारी दिइन् ।
वार्षिकोत्सवको मुल कार्यक्रम माघ २१ गते सोमबार हुनेछ । वार्षिकोत्सवका अवसरमा पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, नानी मुखपत्रको विमोचन, पि.टि. प्रदर्शनी, सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेलले जानकारी दिए ।