२०८३ भाद्र ९
बुटवल ८ भदौ ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित तथा पुनर्गठित मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजनसहित मन्त्रिपरिषद् पुनर्गठनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीन जना नयाँ मन्त्री नियुक्त भएका छन् ।
नयाँ नियुक्त भएका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । नयाँ नियुक्त भएका मन्त्रीहरुको पद तथा गोपनियताको शपथग्रहण प्रदेश प्रमुखको कार्यालय बुटवलमा मंगलबार दिउँसो ३ बजेर २५ मिनेटमा राखिएको छ ।
मन्त्रिपरिषद्का अन्य सदस्यमा तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । त्यस्तै, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
वर्तमान सरकारमा नेकपा (एमाले) बाट मुख्यमन्त्रीसहित चार जना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट तीन जना र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने गरी भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।
