२०८२ जेष्ठ ६
बुटवल २६ बैशाख ।
रुपन्देहीमा ब्यवसायीक वातावरणबारे राष्ट्रिय गोष्ठि शुरु भएको छ । रूपन्देहीको मणिग्राम स्थित राममणि बहुमुखी क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा शुक्रबारदेखि “इमर्जिङ् च्यालेञ्जेज इन नेपाल्स विजनेश इन्भाइरनमेण्ट” (नेपाली व्यवसायिक वातावरणमा उदीयमान चुनौतीहरू) विषयक दुई दिने राष्ट्रिय गोष्ठीमा विज्ञहरुले विभिन्न विषयमा कार्यपत्रहरु प्रस्तुत गरेका छन् । विभिन्न क्याम्पसका प्राध्यापकहरु सहभागि गोष्ठिको आयोजना राममणि क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिले आयोजना गरेको उपप्राध्यापक मुक्तिनाथ गैह्रेले बताए ।
त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापकहरू संलग्न गोष्ठीको पहिलो दिन प्रा.डा. बाबुराम ज्ञवालीले कौटिल्यको अर्थशास्त्रमा द्वन्द्व व्यवस्थापनका व्याख्याबारे अनुसन्धान कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै पोखरा विश्वविद्यालयका सह प्राध्यापक डा. रविन्द्र घिमिरेले नेपाली संस्थाहरूमा जोखिम व्यवस्थापन सम्बन्धी अभ्यासहरूबारे, राममणि बहुमुखी क्याम्पसका प्राध्यापक डा. अशोक भण्डारीले द्वन्द्वसम्बन्धी अध्ययन र नेपाली संस्थाहरूमा त्यसको समसामयिक अवस्थाबारे र क्याम्पसका उपप्राध्यापक कृष्णकुमार रेग्मीले वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरूको पेशागत जोखिमबारे अनुसन्धान कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुत अनुसन्धान कार्यपत्रहरूमाथि विभिन्न प्राध्यापकहरूले जिज्ञासा राख्दै गहन छलफलमा सहभागी भएका थिए ।
गोष्ठीमा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले समुदायप्रतिको कर्तव्यलाई आत्मसात गर्दै क्याम्पसले यस किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले प्राज्ञिक र अनुसन्धनात्मक प्रवद्र्धनमा क्याम्पस लागिपरेको बताए । गोष्ठीमा आयोजक समितिका संयोजक डा. अशोक भण्डारी, सदस्यहरु जगन्नाथ बस्याल, माया घिमिरेलगायतले कार्यक्रमका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा यज्ञोदय दुधनाथ थारू क्याम्पसका क्याम्पस प्रमुख टंकप्रसाद पौडेल, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक मञ्जिल सुवेदी, पशुपति कलेजका चन्द्रप्रकाश न्यौपाने, कल्पना थापामगर, देवदह आदर्श क्याम्पसका नविन कुमार श्रेष्ठ लगायत ६० जनाको सहभागिता रहेको छ ।