२०८२ माघ १
कपिलबस्तु १ माघ ।
ज्येष्ठ नागरिक समाजका अनुभवी मार्गदर्शक भएको उल्लेख गर्दै विजयनगर गाउँपालिकाले ८१ वर्ष उमेर पूरा गरेका २८० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । चिसो मौसममा ज्येष्ठ नागरिकलाई सहज होस भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको र कम्बल र च्यवनप्रास वितरण गर्दै सम्मान गरिएको बताएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले ज्येष्ठ नागरिकको योगदानकै कारण समाज आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै भने, ‘ज्येष्ठ नागरिक हाम्रो समाजका अमूल्य सम्पत्ति तथा मार्गदर्शक हुन । उहाँहरूको सम्मान र संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।’ अध्यक्ष थापाले आगामी दिनमा पनि ज्येष्ठ नागरिकलाई लक्षित कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन ।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले गाउँपालिकाले ज्येष्ठ नागरिकमैत्री नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको बताए । ‘सम्मान मात्र होइन, ज्येष्ठ नागरिकको स्वास्थ्य, संरक्षण र सेवासुविधामा पनि गाउँपालिकाले प्राथमिकता दिएको छ,’ विश्वकर्माले भने ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रेनु पाण्डेले सञ्चालन गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।