२०८२ माघ ७

शान्तिको हाजिरी जवाफको उपाधि अक्सफोर्ड मा.वि.लाई
  • लुम्बिनी खोज
  • २०८२ माघ ७, बुधबार ०९:०२ गते

बुटवल ७ माघ ।
रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरेको छ ।
रुपन्देही जिल्लाका ३३ वटा विद्यालय सहभागी भएकोमा अक्सफोर्ड माध्यमिक विद्यालय प्रथम भएको छ । अक्सफोर्डले नगद रु.१२ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताका संयोजक रचना सापकोटाका अनुसार द्वितीय भई न्यू होराइजन बोर्डिङ् स्कुलले नगद रु.९ हजार, तृतीय भई सुनगाभा मा.वि.ले नगद रु ७ हजार र प्रोत्साहन स्थान प्राप्त गरेको ग्रिन प्लान्ट बोर्डिङ्ले नगद रु. ४ हजार ५ सय, प्रमाणपत्र र मेडल प्राप्त गरेकोे छ ।
यसअघि उद्घाटन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णु पन्थी, विद्यालयका सल्लाहकार टेक बहादुर थापा, विद्यालय व्यवस्थापक समितिका अध्यक्ष शरद भट्टराई लगायतले बोल्दै विद्यार्थीको सृजनशिलता बढाउन र बौद्धिक स्तरलाई माथि उकास्न यस प्रकारका कार्यक्रम प्रभावकारी हुने बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले जिल्लाभरका विद्यालयहरु बीच सद्भाव, सहकार्य र आत्मीयता अभिवृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गरिएको भन्दै आगामी दिनमा अझ रचनात्मक कार्यक्रम गरिने बताए । कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्का र रजनी के.सी.ले गरेका थिए ।
त्यस्तै मंगलबार खाना महोत्सव समेत आयोजना गरिएको थियो । कक्षा आठ, नौ, एघार, बाह्र र डिप्लोमा इन होटल म्यानेजमेन्टका विद्यार्थीहरूको सहभागितामा खाना महोत्सवको आयोजना गरिएको हो । विद्यार्थीहरूले आवश्यक सामग्रीहरूको व्यवस्थापन आफै गरेर खानाका विभिन्न परिकार बनाएको कार्यक्रम संयोजक पिंकी शर्माले जानकारी दिइन् । विद्यार्थीहरूले पास्ता , मम , फुल्की , चटपट , सेलरोटी , चुकौनी, अचार , ढिकरी , मन्चुरियन , पकौडा लगायतका परिकार बनाएका थिए । खाना महोत्सवमा ३० वटा स्टल राखेर परिकारको व्यवस्थापन गरिएको थियोे ।
वार्षिकोत्सवको मुल कार्यक्रम भने माघ ९ गते हुनेछ । वार्षिकोत्सवका अवसरमा छात्रवृत्ति , पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, नानी मुखपत्रको विमोचन तथा सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सूचना संयोजक दिनेश खड्काले जानकारी दिए ।