२०८२ फाल्गुन ७
बुटवल,६फागुन ।
नेपाली कांग्रेसका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार चुन्नप्रसाद पौडेलले चुनावी अभियानलाई तीव्र बनाएका छन ।
चुनावी अभियानका क्रममा उम्मेद्वार पौडेलले रुपन्देही २ को सम्रग विकासको योजनासहित जनताको घर घरमा पुगेका छन । पौडेल बुधबार विहान रुपन्देही ७ दिपनगरका नागरिकसँग बुटवलको स्पष्ट विकासको योजनासहित घरदैलो अभियानमा गएका थिए ।
घरदैलोका क्रममा पौडेलले उद्योग, अर्थतन्त्र, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आफ्ना योजना स्थानीयसमक्ष प्रस्तुत गरेका थिए।
उनले साना तथा मझौला उद्योग प्रवद्र्धन, रोजगारी सिर्जना, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार र सामुदायिक विद्यालय सुदृढीकरणलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताए ।
घरदैलो अभियानका क्रममा स्थानीयले फूलमाला र खादा लगाएर सम्मान प्रकट गरेका थिए। धेरैले पौडेलको आगमनलाई सकारात्मक संकेतका रूपमा लिँदै यसपटक वास्तविक विकास चाहिएको बताएका छन् ।
दिपनगर क्षेत्रमा भएको उक्त घरदैलो अभियानमा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता देखिएको थियो। युवाहरूले रोजगारी र सीप विकासका कार्यक्रम ल्याउन आग्रह गरेका छन् भने महिला समूहले स्वास्थ्य र स्वरोजगार सम्बन्धी योजनालाई प्राथमिकता दिन सुझाव दिएका छन्।
यस्तै बुधबार दिउँसो चुन्नप्रसाद बुटवल १ का चुनावी घरदैलो कार्यक्रम गरे । घरदैलो कार्यक्रममा चुन्नप्रसाद पौडेलले स्थानीयहरुसँग छलफल समेत गरेका थिए । उनले आफु राजनीतिमा जनताको सेवा गर्नका लागि आएको बताउँदै आफ्नो अन्य कुनै पनि स्वार्थ नरहेको बताए । नागरिकहरुको दुःख देखेर नै आफु राजनीतिमा आएकाले यस पटक सहयोग गर्न स्थानीयहरुसँग आग्रह गरे । साथै उनले बुटवल १ पुरानो बटौली समेत भएकाले यसलाई संरक्षण गर्ने बताए ।
चुन्न प्रसाद शर्मा पौडेलले घरदैलो अभियानलाई औपचारिक रुपमा मंगलबारदेखि सञ्चालन गर्दै निरन्तरता दिएका छन् । उनका अनुसार जनताको सुझाव र प्रतिक्रिया संकलन गर्दै व्यवहारिक र कार्यान्वयन योग्य योजना अगाडि बढाइने प्रतिज्ञा गरेका छन् । पारि बुटवलका मुस्लिम समुदायले नेपाली कांग्रेसका उम्मेदवारलाइ समर्थन गरेका छन् ।