२०८२ फाल्गुन १८

राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष उदय भन्छन्ः क्षेत्रको निर्णय नै आधिकारिक निर्णय हो
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन १८, सोमबार १२:२६ गते

बुटवल १८ फागुन ।
रुपन्देहीको क्षेत्र नं. २ मा नेपाली काँग्रेसलाई समर्थन गरेको क्षेत्रको निर्णय नै पार्टीको आधिकारिक निर्णय भएको राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिपकुमार उदयले प्रष्ट गरेका छन् । उनले सोमबार बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै रुपन्देही २ मा पार्टीको आफ्नै उम्मेद्वार नभएको अवस्थामा क्षेत्रीय समितिको बैठकले पार्टीको सिद्धान्त र वैचारिक भिन्नता भएपनि पार्टीले बोकेका मुद्धामा नेपाली काँग्रेसंग नजिक रहेकाले काँग्रेस उम्मेद्वार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने निर्णय सहि भएको बताएका हुन् ।
रुपन्देही २ मा काँग्रेस उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेसंगै राप्रपा भित्र मत भिन्नता देखिएपनि आफ्नो उम्मेद्वार नभएको अवस्थामा क्षेत्रीय समितिले गरेको निर्णयमा अविचलित रहन उनले पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।
जिल्ला अध्यक्षले क्षेत्रीय अध्यक्षलाई कारवाही गर्ने विषय पार्टीको विधान विपरित रहेको भन्दै उनले कारवाहीको निर्णय फिर्ता गरेर संवादको वातावरण बनाउन समेत आग्रह गरे । प्रदेश अध्यक्ष उदयले जिल्ला अध्यक्षले क्षेत्रीय अध्यक्षलाई विना आधार र प्रमाण लाञ्छना लगाएको बताउँदै क्षेत्रले गरेको निर्णयका विरुद्ध लाग्दा उस्तै खालको लाञ्छना आफूलाई पनि लाग्न सक्नेतर्फ सचेत गराए ।