२०८२ चैत्र १७

रुपन्देहीमा एसईई परीक्षाको तयारीः केन्द्राध्यक्ष अभिमुखीकरण
  • लुम्बिनी खोज
  • २०८२ चैत्र १७, मंगलवार १३:१० गते

डिजिटल डिभाइसलाई पूर्णरूपमा निषेधित गर्न निर्देशन
३४५ वटा विद्यालयका नियमित तर्फ १७ हजार ८१५ , ग्रेड वृद्धितर्फ ३७२५ विद्यार्थी सहभागि हुदै

बुटवल १७ चैत ।
शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीको आयोजनामा माध्यमिक शिक्षा परीक्षा २०८२ को केन्द्राध्यक्ष अभिमुखीकरण कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ ।
उक्त अभिमुखीकरणमा जिल्ला परीक्षा समन्वय समिति रूपन्देहीका अध्यक्ष रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले केन्द्राध्यक्षहरूले एसईई परीक्षा पूर्व, परीक्षाको समयमा र परीक्षापश्चातका कार्यहरूमा सचेत रहन र परीक्षालाई परीक्षा जस्तो मर्यादित बनाएर सञ्चालन गर्न निर्देशन दिए । शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका इकाई प्रमुख उपसचिव विष्णुप्रसाद पन्थीले केन्द्राध्यक्ष निर्देशिकाको पूर्ण पालना गरी कार्यसम्पादन गर्न र डिजिटल डिभाइसलाई पूर्णरूपमा निषेधित गर्न निर्देशन दिएको कार्यक्रममा सहभागि नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले जानाकारी दिए ।
। जिल्ला परीक्षा समन्वय समिति रूपन्देहीका सदस्य तथा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले प्रहरी सेवामा प्रवेश गर्नु पहिले आफू विज्ञान शिक्षक भएर अध्यापन कार्य गरेकोमा शिक्षण पेशाप्रति गर्व गर्दै केन्द्राध्यक्षहरूले प्रभावकारी र व्यवस्थित रूपमा परीक्षा सञ्चालन गर्नेमा आफू पूर्ण आशावादी रहेको बताए । उनले सुरक्षा सम्बन्धी कुनै समस्या भएमा नजिकको प्रहरी युनिटमा समन्वय गर्न आग्रह पनि गरे ।
शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीकि प्राविधिक सहायक प्रतिमा ओलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका परीक्षा शाखा प्रमुख अमरबहादुर केसीले २०८२ को एसईई परीक्षा बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा जिल्ला परीक्षा समन्वय समिति रूपन्देहीका सदस्य राष्ट्रिय अनुसन्धान विभाग रूपन्देहीका उप अनुसन्धान निर्देशक प्रकाश आचार्य , रुपन्देही जिल्लाका ५९ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूको सहभागिता रहेको नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए । यस वर्ष रूपन्देही जिल्लाका १७६ वटा सामुदायिक १६९ संस्थागत गरी जम्मा ३४५ वटा विद्यालयका विद्यार्थी परिक्षामा सहभागि हुदैछन् । यहा प्राविधिक धारतर्फ ३९४ सहित नियमित तर्फ १७ हजार ८१५ , ग्रेड वृद्धितर्फ ३७२५ विद्यार्थी रहेका छन् ।