२०८३ बैशाख १०

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित
  • लुम्बिनी खोज
  • २०८३ बैशाख ९, बुधबार १२:२५ गते

बुटवल ९ बैशाख ।

लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक पारित गरेको छ । प्रदेश सभाको सातौँ अधिवेशनको १५औँ बैठकमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले विधेयकमाथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत पारित भएको घोषणा गरे । बुधबारको बैठकमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी र आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेश सभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

त्यस्तै, प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन सभामा पेस गरिन् । त्यस्तै, सार्वजनिक लेखा समितिका सभापति माया पुनले समितिको वार्षिक प्रतिवेदन पेस गरिन् ।

बैठकमा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले संघीय सरकारले जनताप्रतिको प्रतिबद्धता भुलेको आरोप लगाए । महँगीका कारण जनता मारमा परे पनि संघीय सरकारले बेवास्ता गरेको धारणा उनको छ ।

प्रदेश सभा सदस्य यमबहादुर सार्कीले लामो प्रयासपछि दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तयार भएको उल्लेख गर्दै यसलाई ऐतिहासिक उपलब्धि भएको बताए ।