२०८३ बैशाख १०

कक्षा १२ को परीक्षाः रुपन्देहीमा १६६ विद्यालयका १९ हजार ५६९ विद्यार्थी
  • लुम्बिनी खोज
  • २०८३ बैशाख ९, बुधबार १४:३५ गते

केन्द्राध्यक्ष अभिमुखीकरण कार्यक्रम सम्पन्न
रुपन्देही ९ बैशाख ।
राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलको आयोजनामा कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष अभिमुखीकरण कार्यक्रम जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा बुधबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले वैशाख १४ गतेबाट सञ्चालन हुने कक्षा १२ को बोर्ड परीक्षालाई मर्यादित ,व्यवस्थित ,अनुकरणीय र प्रभावकारी बनाउने तर्फ लाग्न केन्द्राध्यक्षहरूलाई निर्देशन दिँदै परीक्षाको अनुगमन आन्तरिक रूपमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकबाट प्रभावकारी रूपमा गर्नुपर्ने र बाह्य अनुगमनकर्ताको आवश्यकता नहुने र परीक्षाको समन्वय तथा सहजीकरण प्रदेश परीक्षा व्यवस्थापन कार्यालयले गर्ने धारणा व्यक्त गरे ।
जिल्ला परीक्षा समन्वय समिति रूपन्देहीका सदस्य सचिव तथा शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका इकाई प्रमुख, उपसचिव विष्णुप्रसाद पन्थीले परीक्षामा संलग्न हुने कर्मचारी छनोटमा स्वार्थको द्वन्द्व मुक्त तवरले छनोट गर्न, सिट प्लान वैज्ञानिक तवरले गर्न र डिजिटल डिभाइसलाई पूर्ण निषेध गर्न निर्देशन दिएको कार्यक्रममा सहभागि नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले जानाकारी दिए । राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख कमल अर्यालले यस वर्ष रूपन्देही जिल्लाका १६६ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूका लागि ४५ वटा परीक्षा केन्द्र कायम गरिएको बताए । रुपन्देहीमा नियमिततर्फ परीक्षामा सहभागी हुने विद्यार्थीहरू १६ हजार २२ ग्रेड वृद्धि तथा आंशिकतर्फ तर्फ ३ हजार ५४७ गरी जम्मा १९ हजार ५६९ विद्यार्थीहरूको सहभागिता रहने उनले बताए ।
रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको अध्यक्षतामा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका शाखा अधिकृत तारा पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डकी शाखा अधिकृत बिना पन्थीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य , सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहरा ,राष्ट्रिय अनुसन्धान विभाग रूपन्देहीका उप अनुसन्धान निर्देशक प्रकाश आचार्य ,जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवाली र रुपन्देही जिल्लाका ४५ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूको सहभागिता रहेको नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए ।