२०८३ बैशाख १६
नवीनमा अन्तरकृया
बुटवल, १५ बैशाख ।
रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सुलभ खरेलले मुलुकमा सुशासनलाई संस्थागत गर्नुपर्ने दायित्व रहेको बताएका छन् । मुलुकले सुशासनको बाटोमा हिड्ने सरकार पाएको चर्चा गर्दै उनले अब भ्रष्टाचारका काण्डहरु इतिहासका पानामा रहने गरी अगाडी बढ्नुपर्ने धारणा राखे ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगर बुटवलको मंगलवार निरीक्षणका क्रममा भएको अन्तरकृयामा वोल्दै उनले विद्यालयले विद्यार्थी संख्या र गुणस्तरमा देशमा पहिचान कायम गरेको भएता पनि सरकारी दरवन्दी र भौतिक पूर्वाधार विकासमा केहि कमि भएकोले विद्यालय स्रोतमा शिक्षक व्यवस्थापन गर्न अभिभावक सहयोग उठाउनु पर्ने बाध्यता भएकोले यो बाध्यता न्यूनीकरणको लागि शिक्षक दरबन्दी र भौतिक पूर्वाधारको लागि मन्त्रालयमा जोडदार आवाज उठाउने धारणा व्यक्त गरे । उनले शिक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री समक्ष विद्यालयका समस्याबारे कुरा राख्ने समाधानका लागि आवशयक पहल गर्ने बताए । नवीनका विद्यार्थीहरुले पन्चेबाजामा देखाएको कलाले आफु हर्षित भएको बताउदै उनले विद्यार्थीहरुलाई मिहिनेतका साथ अगाडी बढ्न सुझाब दिए ।
विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष कृष्ण प्रसाद खरेलले अभिभावक बर्गले नवीन, कालिका, कान्ति र शान्ती नमुनालाई फरक किसिमले हेर्नु पर्ने धारणा व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका भौतिक र आर्थिक समस्याहरु र विद्यालयको समग्र पक्षको जानकारी गराएका थिए ।
विद्यालयमा कक्षा ११ व्यवस्थापन समूहकी छात्रा विविशा गिरीको संचालनमा सम्पन्न कार्यक्रममा लुम्विनी प्रादेशिक विश्वविद्यालयका वोर्ड सदस्य तथा निर्माण व्यवसायी नारायण भुसाल, कमल खनाल, सुनिल शाह, हुमराज बस्याललगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कक्षा ६,७ र ८ मा अध्ययनरत विद्यार्थीहरुले पन्चेबाजा बजाएर प्रदर्शन समेत गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य खरेलले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उत्कृष्ट कार्यक्रम सञ्चालन गरेबापत कक्षा ११ व्यवस्थापन समूहकी विद्यार्थी विविशा गिरीलाई सम्मानसमेत गरेका थिए ।
