२०८३ असार ८

लुम्बिनी प्रदेशमा नसर्ने रोगको जोखिम बढ्दो
  • लुम्बिनी खोज
  • २०८३ असार ८, सोमबार ११:०० गते

बुटवल ८ असार ।
लुम्बिनी प्रदेशमा नसर्ने रोगको जोखिम बढेसगै जनस्वास्थ्यका लागि चुनौती थपिदै गएको छ । आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन गरिएको नसर्ने रोग स्क्रिनिङ कार्यक्रमअन्तर्गत हालसम्म ४ लाख ६६ हजार १ सय ९७ जनाको परीक्षण गर्दा उच्च रक्तचाप, मधुमेह, तथा मिर्गौंलासम्वन्धी समस्या भएकाहरुको संख्या बढ्दै गएको पाइएको हो ।
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले रूपन्देहीको तिलोत्तमामा गरेको ‘स्वस्थ गाउँ–सहर तथा स्वास्थ्य प्रवद्र्धनका लागि पैरवी कार्यक्रम’ मा प्रस्तुत तथ्यांकअनुसार परीक्षण गरिएकामध्ये ४८ प्रतिशत व्यक्ति बढी तौल वा मोटोपनाबाट प्रभावित छन् । स्वास्थ्यकर्मीहरूले यसलाई प्रदेशको प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा औंल्याएका छन् ।
कार्यक्रममा सहजीकरण गर्दै सैनामैना नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दीपक पाण्डेले नसर्ने रोग नियन्त्रणका लागि स्वस्थ जीवनशैली, नियमित व्यायाम र सन्तुलित खानपान आवश्यक रहेको बताए ।
उनले स्वास्थ्य अवस्था निर्धारण गर्ने अधिकांश कारक अस्पताल बाहिरका सामाजिक तथा व्यवहारजन्य पक्षसँग सम्बन्धित रहेको भन्दै स्वास्थ्य सचेतनामा विशेष ख्याल गर्नुपर्ने बताए । तिलोत्तमा–१३ का वडाध्यक्ष नारायण ढकालले स्थानीय तहले वातावरण स्वच्छता तथा स्वास्थ्य प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताए ।
स्वास्थ्य कार्यालय रूपन्देहीका नसर्ने रोग फोकल पर्सन खिमलाल पाण्डेले जिल्लामा हालसम्म करिब १ लाख ७ हजार जनाको स्क्रिनिङ सम्पन्न भएको र थप १ लाख १३ हजार जनाको परीक्षण गर्ने लक्ष्य रहेको जानकारी दिए ।
स्वास्थ्यकर्मीहरूले नसर्ने रोगको जोखिम घटाउन खानपानमा विशेष ध्यान दिनुपर्ने, नियमित स्वास्थ्य परीक्षण, शारीरिक गतिविधिलगायत मुख्य त आहार विहारमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।