२०८१ पुष १२

जनताको साथ, माया र उत्साहले निर्वाचन जित्छु: घनश्याम
  • लुम्बिनी खोज
  • २०७९ कार्तिक १९, शनिबार १८:३३ गते

बुटवल ।

सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका बौद्धिक नेता घनश्याम भुसालले जनताको साथ, माया र उत्साह देख्दा निर्वाचन जित्छु जस्तो लागेको बताएका छन्।

उनले जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने पनि बताएका छन्। संसदमा गएर बाँकी रहेका विकास निर्माणका अधुरा कार्य पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

शनिबार देवदहमा आयोजित ‘स्रष्टासँग घनश्याम भुसाल’ कार्यक्रममा बोल्दै उनले केवल चुनाव जित्नका लागि मात्र आफूले आश्वासन नदिएको उल्लेख गरे। उनले भने, ‘मैले अनावश्यक र भ्रमपूर्ण आश्वासन बाँड्ने गरेको छैन, गर्न सक्ने प्रतिबद्धता सार्वजनिक गरिरहेको छु, ती प्रतिबद्धता पूरा गर्छु।’

स्रष्टाहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै भुसालले निकै लामो संघर्ष गरेर नेकपा एमाले पार्टीलाई जनताको प्यारो पार्टी बनाएको तर संसद् र सरकारमा जनताको मुद्दा उठाउँदा एमाले नेतृत्वले उल्टै अपमान गरेको गुनासो गरे।

नेपाली कला, साहित्य र लेखनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले नेताहरूमा सही सांस्कृतिक चिन्तन आवश्यक रहेको तर्क गरे।

पछिल्लो समय नेपाली राजनीति खराब लयमा गुज्रिरहनुमा समेत नेताहरूको समाज र संस्कृतिलाई बुझ्ने सवालमा रहेका समस्या कारक रहेको उनले बताए।

बिग्रेको राजनीतिलाई लेखन, साहित्य तथा विचारको माध्यमबाटै सुधारेर राजनीतिक नेतृत्व र समाजलाई सही दिशामा हिँडाउन स्रष्टाहरूले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

हिजो तपाईंले संसदमा रहेर के गर्नुभयो र अब तपाईंलाई फेरि किन संसदमा पठाउने भन्ने स्रष्टाहरूको जिज्ञासामा भुसालले विगतमा आफू संसदमा रहँदा लोकतन्त्र र संविधानको रक्षा तथा पार्टीभित्रको गलत प्रवृत्तिविरुद्ध निर्धक्कका साथ आवाज उठाएको बताए।

कार्यक्रममा समालोचक तथा लेखक रामचन्द्र श्रेष्ठले अहिलेको चुनावमा एकातिर कमल थापा र दीपक बोहराजस्ता परिर्वतन विरोधी, अझै पनि राजतन्त्र चाहिन्छ भन्नेहरू रहेको र अर्कोतिर घनश्याम भुसालहरू रहेकोले जनताले कसलाई संसदमा पठाउने भन्ने फैसला सोहीअनुसार गर्नुपर्ने बताए।

देशको राजनीति दलाल उत्पादन गर्ने दिशातर्फ अगाडि बढिरहेको बताउँदै उनले बिग्रिएको राजनीतिलाई सही दिशामा लैजान सांसदहरूको भूमिका हुने र त्यो भूठमिका घनश्याम भुसालहरूले खेल्न सक्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा युगीन साहित्य समाजका विष्णु विवश पोखरेल, फोनिज रुपन्देहीका उपाध्यक्ष प्रेम थापा, कलाकार तेजु अर्याललगायतले समसामयिक विषयमा भुसालसँग जिज्ञासा राखेका थिए।