२०८३ भाद्र २२
विभिन्न जिम्मेवारी तोकिँदै, निर्वाचन अधिकृत नियुक्तदेखि राहत सहयोगसम्मका निर्णय
बुटवल, २२ भदौ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी असोज २१ देखि २३ गतेसम्म हुने ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशनको तयारी तीव्र पारिएको छ। अधिवेशनलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न संघले कार्यसमिति सदस्यहरूलाई विभिन्न जिम्मेवारी तोकेको छ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले साधारण सभा तथा अधिवेशनको तयारीका लागि १० वटा समिति गठन गर्दै कार्यसमिति सदस्यहरूलाई जिम्मेवारी प्रदान गरेको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए।
बैठकले कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डेलाई प्रस्ताव लेखन, गणेशप्रसाद भट्टराईलाई किटब्याग व्यवस्थापन तथा रजिस्ट्रेसन, विष्णु घिमिरे पन्त (कमला)लाई सदस्यता तथा मत सर्वेक्षण, रेनु श्रेष्ठलाई स्वागत तथा सत्कार, रामबहादुर भण्डारीलाई खाना तथा जलपान व्यवस्थापनको जिम्मेवारी दिएको छ।
त्यस्तै, दीपक चापागाईंलाई निमन्त्रणा कार्ड व्यवस्थापन, उमेश अमात्यलाई हल तथा मञ्च व्यवस्थापन र टीकाराम बञ्जाडेलाई पार्किङ व्यवस्थापनको जिम्मेवारी तोकिएको छ।
संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठलाई संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कारको मूल्यांकन तथा पूर्वअध्यक्ष खिमबहादुर हमाललाई उत्कृष्ट उद्योगी–व्यवसायी मूल्यांकन संयोजकको जिम्मेवारी दिइएको छ।
निर्वाचनका लागि तीन अधिकृत नियुक्त
बैठकले आगामी अधिवेशन सम्पन्न गर्न निर्वाचन समिति समेत गठन गरेको छ। संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डेलाई प्रमुख निर्वाचन अधिकृत तथा अधिवक्ता माधव घिमिरे र अधिवक्ता गोविन्द मरासिनीलाई निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरिएको छ।
यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघका विभिन्न समितिमा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू मनोनयन भएकोमा बैठकले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
महासंघको स्वास्थ्य समितिमा संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई, सहरी विकास समितिमा महासचिव मुक्तिप्रसाद अधिकारी र महिला उद्यमी समितिमा कार्यसमिति सदस्य सुनिता शर्मा बञ्जाडे मनोनयन भएका छन्। त्यस्तै, नेपाल–भारत व्यापार मण्डलको सचिवमा कार्यसमिति सदस्य दीपक घिमिरे मनोनित भएका छन्।
भोटेकोशी बाढीपीडितलाई राहत सहयोग
बैठकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि नेपाल उद्योग वाणिज्य महासंघमार्फत प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग प्रदान गर्ने निर्णय पनि गरेको छ।
बाढी विपत्तिमा परी ज्यान गुमाएकाहरूको सम्झना तथा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै संघ परिसरमा सोमबार साँझ दीप प्रज्ज्वलन गर्ने निर्णयसमेत गरिएको छ।
‘अधिवेशन मर्यादित र निष्पक्ष बनाऔँ’
बैठकमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका संघका अध्यक्ष हरिप्रसाद अर्यालले साधारण सभा तथा अधिवेशनलाई सभ्य, भव्य, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न सबैले आ–आफ्नो स्थानबाट इमान्दार प्रयास गर्न आग्रह गरे।
उनले अधिवेशनलाई मर्यादित र निष्पक्ष बनाउन आफूले पनि आफ्नो तर्फबाट इमान्दार भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघको गरिमा बढ्दा र संघ बलियो हुँदा यसका सदस्यहरूको समेत गरिमा र सामर्थ्य बढ्ने बताए। उनले संघको गरिमा बढाउने र संस्थालाई थप बलियो बनाउने गरी सबै एकजुट भएर अघि बढ्न आग्रह गरे।
बैठकमा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, सचिव प्रतीक पोखरेल तथा सहकोषाध्यक्ष धनकला खनालले आ–आफ्ना धारणा राखेका थिए।
