२०८२ श्रावण ५

बुटवलमा यसरी भब्य रुपमा सम्पन्न भयो चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन ७, आईतवार १२:४९ गते

बुटवल,७ फाल्गुन ।
बुटवल उपमहानगरपालिकाको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा संचालित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ भब्य रुपमा सम्पन्न भएको छ । ूस्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद सबैका लागि खेलकुदू भन्ने मूल नाराका साथ् फाल्गुन ४ देखि संचालित खेलको समापन समारोहमा बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेयले बुटवल शैक्षिक हव भएको र खेल क्षेत्रमा पनि बुटवलले पहिचान कायम राख्न सफल भएकोमा खुशी व्यक्त गर्दै राष्ट्रिय एवं अन्तराष्ट्रिय रुपमा सहभागी हुने गरी खेलाडीहरुको क्षमता विकासमा सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्दै खेलको जग विद्यालय तह भएकोले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरुको लागि विमाको व्यवस्था, खेल प्रवर्द्वन, प्रोत्साहन र विकास गर्न विजेता, उपविजेता विद्यार्थीहरुलाई नगदको व्यवस्था गरिएको र भावी दिनमा थप प्रभावकारी र व्यवस्थित गरिने बताए ।
उक्त अवशरमा १७ स्वर्ण, ७ रजत,५ कास्य गरी कुल २९ पदक प्राप्त गरी कालिका मानवज्ञान माविले रनिङ्ग शिल्ड ट्रफी, पन्ध्रहजार नगद र प्रमाण पत्र प्राप्त गरेको छ । नवीन औद्योगिक कदर बहादुर रीता माविले ८ स्वर्ण, १२ रजत र ६ कास्य गरी कुल २६ पदक प्राप्त गरी द्वितीय भएर ट्रफी, दश हजार नगद र प्रमाण पत्र प्राप्त गरेको छ । न्यू होराइजनले ६ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल १४ पदक प्राप्त गरी तृतीय भइ ट्रफी, पाँच हजार नगद र प्रमाण पत्र प्राप्त गरेको छ । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरुलाई नगर प्रमुख खेलराज पाण्डेयले शिल्ड, ट्रफी, नगद र प्रमाणपत्र वितरण गरे ।
समूह खेल तर्फ छात्र भलिवलमा न्यू होराइजन प्रथम छात्रा भलिवलमा एभरेष्ट मावि प्रथम, कवडी तर्फ छात्र र छात्रा दुवैमा कालिका मानवज्ञान माविप्रथम भएको छ ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन निर्देशिका २०७९ अनुसार समावेश गरिएका खेलहरु छात्र छात्रा भलिवल, कवडी, ४ वटा एथलेटिक्स, फिल्ड १०, ट्रयाक १२, रिले चार मार्शलआर्ट तर्फ कराते ८, तेक्वान्डो ६ गरी कुल ४४ वटा ५ विद्याका खेलहरु संचालन गरिएको थियो ।
कवडी तर्फ छात्रको तौल ७० के जी माथी र छात्राको ६५ केजी माथी हुन नपाइने र सबै विद्यामा खेल खेल्ने खेलाडीहरुको उमेर १८ बर्ष माथि हुन नहुने प्रावधान रहेकोमा केहि विद्यालयका विद्यार्थीहरुको उमेरमा लिखित उजुरी परेकोले प्रमाण पुगेकालाई कायम गरिएको छ र प्रमाण झुटो भएकाको पदक खोसिएको चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ का सचिव एवं नवीन औद्योगिक कदर बहादुर रीता माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एकल विद्यामा प्रथम, द्वितीय र तृतीयलाई क्रमश एक हजार पाँच सय, एक हजार र पाँच सयका दरले र समूह तर्फ भलिवल, कवडी प्रथमलाई दश हजार, द्वितीयलाई पाँच हजार र तृतीयलाई दुई हजार पाँच सयका दरले नगद, पदक र प्रमाणपत्रद्वारा बुटवल उपमहानगरपालिका नगर उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, लुम्विनी प्रदेश खेलकुद परिषद सदस्य सचिव जय प्रकाश भट्टराई, रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री, बुटवल उपमहानगरपालिका प्रवक्ता शिव राना, वडा अध्यक्ष दधिराम न्यौपाने, कार्यपालिका सदस्यहरु निलम गौतम, सुनिता खडलुक, राधादेवी पौडेल, यम बहादुर सुनार लगायतले नगद, पदक र प्रमाणपत्र वितरण गरे ।
चौथो राष्ट्रपति रनिङ्ग शिल्कोड अवसरमा बुटवल उपमहानगरपालिकाले करिव ३ लाख नगद प्रत्येक्ष लक्षित वर्गका खेलाडीलाई वितरण गरेर बुटवलले खेल क्षेत्रमा असल अभ्यासको सुरुवात गरी अनुकरणीय कार्य गरेकोमा देशभरीका पालिकाहरुको लागि एउटा सिकाइ हुने चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ का सदस्य एवं सुरक्षा तथा स्वयमसेवक व्यवस्थापन उपसमितिका संयोजक पुर्व वक्सीङका खेलाडी राजु गुरुङले बताए ।
समुद्घाटनमा भएको मार्च पासमा कालिका मानवज्ञान मावि प्रथम, कान्ति मावि द्वितीय र तिलोत्तमा मावि तृतीय भएको छ ।
बुटवल उपमहानगरपालिका अन्तरगतका १६ वटा सामुदायिक र २२ वटा संस्थागत गरी ३८ विद्यालयका एक हजार एक सय सत्ताइस खेलाडीहरुको सहभागिता रहेको खेलमा १० वटा सामुदायिक र १४ वटा संस्थागत विद्यालयहरुले पदक प्राप्त गर्न सफल भएका छन् ।
चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ का संयोजक वडा नं. ५ का वडा अध्यक्ष एवं पुर्व खेलाडी हरि प्रसाद श्रेष्ठको अध्यक्षतामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ का सचिव एवं नवीन औद्योगिक कदर बहादुर रीता माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।