२०८१ आश्विन ८

रुपन्देही सुपरलिगः लुम्बिनी खुकुरीलाई ७ विकेटको सफलता
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १५, सोमबार ११:२५ गते

भैरहवा, फागुन १५ ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को सोमबारको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी भएको छ । खुकुरीले तिलोत्तमा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनको सामान्य योगफल बनायो । उसका लागि मिर्नाल गुरुङले ५२, मनिष थापाले २४, विपिन खत्रीले २३ र विकल अधिकारीले १४ रन बनाए । उसलाई मध्यमस्तरको स्कोरमा रोक्न बलिङमा लुम्बिनी खुकुरीका शाह आलमले ४ तथा इकलाख अहमद वारिस, सन्तोष यादव र अजयकुमार चौहानले समान २–२ विकेट लिए ।

प्रतिउत्तरमा लुम्बिनी खुकुरीले ३३.५ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ६० रन बनाउँदै लक्ष्य भेट्टायो र जित निकाल्यो । उसको जितमा ९५ बलको सामना गरेका प्रज्वल थापाले ११ चौकाको मद्दतमा नटआउट ७९ रन बनाए । यस्तै, सन्तोष यादवले ३०, न्शिचल चौधरीले १८ र विराट भण्डारीले ९ रनको योगदान दिए । बलिङमा तिलोत्तमाका विपिन खत्रीले २ तथा अमन बोहरा क्षेत्रीले १ विकेट लिए । खुकुरीका शाह आलम म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरेको संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी दिए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।