२०८१ आश्विन ७

रुपन्देही सुपरलिगः वेष्टर्न क्लबलाई सफलता
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २९, सोमबार १४:१८ गते

भैरहवा, २९ फागुन ।

तिरुपति क्रिकेट क्लबलाई पराजित गर्दै बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको सुपर फोरको खेलमा विजयी भएको छ । वेष्टर्नले तिरुपतिमाथि ६५ रनको जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा ४८.५ ओभरमा सबै विकेटको नोक्सानीमा २ सय १३ रनको उच्च योगफल बनायो । टीमलाई उच्च स्कोरमा पुर्याउन अनिलकुमार साहले अर्धशतीकय पारी खेले । ७८ बलमा ९ चौका र १ छक्काको मद्दतमा उनले ८४ रन बनाए । यस्तै, रञ्जित खड्काले ३० र भुवन पाण्डेले २४ रनको योगदान गरे । बलिङमा तिरुपतिका विवेक यादवले ४, वसिर अहम्मद र वीरेन्द्र मल्लले समान २–२ तथा संदीप मौर्य र तुलबहादुर थापाले १–१ विकेट लिए ।

प्रतिउत्तरमा तिरुपतिले २५.४ ओभरमा सबै विकेटको क्षतिमा १ सय ४८ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि वसिर अहम्मदले ४९, नन्दलाल चाई र तुलबहादुर थापाले २४–२४ तथा विवेक यादवले १८ र संदीप मौर्यले १६ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङमा वेष्टर्नका बिष्णु पाण्डे र अभिषेक गौतमले समान ४–४ महत्वपूर्ण विकेट लिँदा अनिल खरेलका नाममा २ विकेट रह्यो । वेष्टर्नका अनिलकुमार साह म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।