२०८१ माघ २३

गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू
  • लुम्बिनी खोज
  • २०८० बैशाख २९, शुक्रबार १७:१२ गते

गुल्मी,२९ बैशाख ।
गुल्मीको रेसुङ्गा विमानस्थलबाट शुक्रबारदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ । निगमको जहाजले दुई हप्ता अगाडि रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि गुल्मेली नागरिकले हवाई सेवा पाउने निश्चित भएको थियो ।

शुक्रबार बिहान ६ः३० बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाजले ७ः१५ बजे रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । ” रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले काठमाडौँमै गई लामो समय प्रयास गरी नेपाल एयरलाइन्सले नियमित उडान गरेको बताए ।
गुल्मेलीलाई हवाई सेवा दिन लामो प्रयास गरेका थियौँ”, उनले भने, “नियमित उडानले गुल्मेलीको सपना साकार भएको छ ।” उनका अनुसार निगम र नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भएको थियो ।
निगमको जहाज पहिलो व्यावसायिक उडानमा १४ यात्रु बोकेर रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो । फर्किँदा पनि १४ यात्रु लिएर जहाज फर्किएको हो । प्रतियात्रु रु छ हजार तीन सय भाडादर कायम गरिएको छ ।

रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते र गत पुस २४ गते तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । पछि भाडादर महँगो भएपछि तारा एयरको जहाजको उडान स्थगित भएको हो । विमानस्थल एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थल कूल रु ३५ करोडको लागतमा निर्माण सम्पन्न भएको थियो ।