२०८१ आश्विन ६

बुटवलमा धर्म, ज्योतिष एवं वास्तु सम्मेलनको तयारी
  • लुम्बिनी खोज
  • २०८० श्रावण १५, सोमबार १४:३० गते

बुटवल १५ साउन ।
धर्म, ज्योतिष तथा वास्तुसग सम्वन्धित प्रश्नहरुको उत्तर खोज्ने गरी बुटवलमा पहिलो पटक धर्म, ज्योतिष तथा वास्तु सम्मेलन गर्न लागिएको छ । ज्योतिष तथा पण्डितहरुलाई नै लक्षित गरेर गर्न लागिएको कार्यक्रममा काजकिरिया देखि जीवनसग जोडिएका विभिन्न विषयमा उत्तर खोजिने भएको छ । यही साउन १९ र २० गते विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशको आयोजनामा सम्मेलन हुदैछ । आध्यात्मिक सम्मेलनमा देशैभरबाट करिब ५०० जनाको सहभागिता रहने आयोजकले बताएका छन् ।
सोमबार बुटवलमा गरिएको पत्रकार सम्मेलनमा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष एंव कार्यक्रम संयोजक ज्यो.जनार्दन न्यौपानेले दुई दिने सम्मेलनमा विद्धानहरुको सहभागिता रहने र त्यहा गहन छलफल हुने हुदा कार्यक्रम निकै महत्वपूर्ण रहेको बताए । सनातन धर्म पद्धतिअनुसार आशौच परिचय र निर्णयहरू बुझ्न र व्यावहारिक रूपमा कार्यान्वयन गर्न सम्मेलनले मद्दत मिल्ने उनले बताए । सम्मेलनमा महत्वपूर्ण तीनवटा कार्यपत्र प्रस्तुत गरिने छ । सम्मेलनको पहिलो दिन धर्मशास्त्र विशेषज्ञ प्रा.डा.देवमणि भट्टराईले आशौच परिचय र निर्णयहरू विषयक कार्यपत्र प्रस्तुत गर्ने न्यौपानेले बताए । हाम्रो समाजमा उब्जिएका १२० वटा प्रश्नको उत्तरसहितको कार्यपत्र उनले प्रस्तुत गर्ने तयारी छ । यस कार्यपत्रले धेरै जटिल प्रश्नहरुको जवाफ दिने न्यौपानेको भनाइ छ ।
त्यस्तै ज्योतिष शास्त्रमा वैदेशिक यात्राका विषयमा उपप्राध्यापक लक्ष्मीप्रसाद बराल, वास्तु र जीवनमा डा. माधवमंगल जोशीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । यी कार्यपत्रहरुले ज्योतिषिय दृष्टिले वैदेशिक यात्रा तथा जीवनमा वास्तुसम्बन्धी व्यावहारिक एवं सैद्धान्तिक पक्षको ज्ञान आर्जन गर्न मद्दत मिल्ने आयोजकको भनाइ छ ।
धर्म, अध्यात्म, कर्मकाण्ड, ज्योतिष, योग, तन्त्र, साधना, वास्तु निर्माण व्यवसायी, व्यापारी, एवं वास्तु विषयसँग रुचि राख्ने र तत्सम्बन्धी काम गर्दै आएका व्यक्तिहरू सम्मेलनको लक्षित वर्गमा रहेका छन् ।
कार्यक्रममा नेपाल पञ्चा निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, त्रिभुवन विश्व विद्यालय संस्कृत केन्द्रीय विभागका प्रा. डा. नारायण गौतम, त्रिभुवन विश्व विद्यालयका ज्योतिर्विद सह प्रा. दिनानाथ पण्डितलगायत वक्ताका रुपमा रहेका छन । कार्यक्रमको सहआयोजकमा लुम्विनी पुजा सामाग्री भण्डार, बुटवल रहेको छ ।