२०८३ श्रावण १६

वातावरण प्रिमियर लिगः एक टन फोहोर संकलन गर्दै सरसफाइ अभियान सम्पन्न
  • लुम्बिनी खोज
  • २०८३ श्रावण १६, शनिबार १५:२७ गते

बुटवल, १६ साउन ।

बुटवल उपमहानगरपालिका र मैनादेवी फाउन्डेसनको सहकार्यमा नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयद्वारा सञ्चालित वातावरण प्रिमियर लिग (इपीएल) शनिबार सम्पन्न भएको छ। प्रतियोगिताअन्तर्गत विद्यार्थीहरूले देवीनगर, माझगाउँ र प्रगतिनगर क्षेत्रमा सरसफाइ तथा जनचेतनामूलक अभियान सञ्चालन गर्दै करिब एक टन नकुहिने फोहोर संकलन गरेका छन्।

समापन समारोहलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले फोहोर व्यवस्थापन प्रत्येक नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्नुपर्नेमा जोड दिए। बुटवललाई पूर्ण सरसफाइयुक्त नगर बनाउने लक्ष्यका साथ उपमहानगरपालिका सबै पक्षसँग सहकार्य गर्न तयार रहेको बताउँदै उनले विद्यार्थीहरूको सक्रिय सहभागिताको प्रशंसा गरे। उनले फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रम र आवश्यक सामग्री उपलब्ध गराउँदै आएको जानकारी पनि दिए।

बुटवल–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले वातावरण प्रिमियर लिगले विद्यार्थीमा सरसफाइप्रति उत्साह र जिम्मेवारीबोध बढाएको बताए। वातावरण संरक्षण, प्रदूषण नियन्त्रण र पानीका स्रोतको संरक्षणबारे जनचेतना फैलाउन विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भविष्यका नेतृत्वकर्ता विद्यार्थी नै भएकाले समाज परिवर्तनको क्षमता उनीहरूमै रहेको धारणा राखे।

वातावरण प्रिमियर लिगका आधिकारिक प्रतिनिधि तपेश जैसीले बुटवललाई सफा, सुन्दर र व्यवस्थित बनाउन बुटवल उपमहानगरपालिका र मैनादेवी फाउन्डेसनको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको बताए। म बदलिन्छु, अनि मेरो देश बदलिन्छ, भन्ने मूल नारासहित सुरु गरिएको अभियानले नागरिकमा सरसफाइको संस्कार विकास गर्ने उद्देश्य राखेको उनको भनाइ थियो। उनले नवीन औद्योगिक कदरबहादुर रीता माविले प्रत्येक साप्ताहिक इपीएल कार्यक्रमलाई नवप्रवर्द्धनात्मक र प्रभावकारी ढंगले सञ्चालन गरेको भन्दै प्रशंसा गरे।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कृष्णप्रसाद खरेल, जी–२५ क्लब बुटवलका अध्यक्ष सजनकुमार भारी, विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, चौपारी टोल विकास समितिका अध्यक्ष शिव बस्याल, नवदुर्गा मन्दिरका अध्यक्ष कुलबहादुर केसी लगायतले वातावरण संरक्षणमा विद्यार्थीको सहभागिताको महत्वबारे धारणा राखेका थिए।

कार्यक्रममा कक्षा १२ विज्ञान समूहका प्रमोद आचार्यले डेङ्गु रोगसम्बन्धी सचेतना प्रस्तुत गरेका थिए भने कानुन समूहका अनिशा भण्डारी र सन्ध्या घर्ती मगरले वातावरणीय सरसफाइ तथा डेङ्गु नियन्त्रणसम्बन्धी सन्देश र नाराहरू प्रस्तुत गरेका थिए। स्वागत मन्तव्य विकास परियारले दिएका थिए भने विद्यार्थी अनुष्का बेलबासेले सरसफाइ अभियानबारे आफ्नो अनुभव प्रस्तुत गरेकी थिइन्।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख नेत्र खरेल, इपीएल कार्यक्रमका फोकल पर्सन नीलकण्ठ न्यौपाने, खेल प्रशिक्षक दीपककुमार क्षेत्री, विद्यालय कर्मचारी परिषद् बुटवलका अध्यक्ष देवराज चौधरी, सवारीचालक इन्चार्ज थमबहादुर थापा तथा कर्मचारी आशा चौधरीको सक्रियतामा करिब १६० विद्यार्थीलाई चार समूहमा विभाजन गरी देवीनगर, माझगाउँ र प्रगतिनगर क्षेत्रमा परिचालन गरिएको थियो।

प्रत्येक टोलीमा करिब ४० जना विद्यार्थी सहभागी थिए। विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार टोलीहरूले सडक, सार्वजनिक स्थल तथा बस्ती क्षेत्रमा सरसफाइसँगै वातावरण संरक्षण र डेङ्गु नियन्त्रणसम्बन्धी जनचेतना फैलाएका थिए। अभियानबाट संकलन भएको करिब एक टन नकुहिने फोहोर देवीनगर चौपारीमा जम्मा गरी बुटवल उपमहानगरपालिकाको सहयोगमा व्यवस्थापन गरिएको थियो।

सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले बुटवल उपमहानगरपालिका, मैनादेवी फाउन्डेसन र नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयको नाम अंकित डस्टबिन चौपारी टोल विकास समितिका अध्यक्ष शिव बस्याललाई हस्तान्तरण गरेका थिए।

स्थानीय बुद्धिजीवी, ज्येष्ठ नागरिक, समाजसेवी तथा सामाजिक अगुवाहरूको समेत सहभागिता रहेको कार्यक्रम कक्षा १२ शिक्षा समूहका विद्यार्थी विजय क्षेत्रीको अध्यक्षता तथा व्यवस्थापन समूहकी विद्यार्थी सदिक्षा ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो।