२०८१ कार्तिक ६

नेपाल भारतसँग २३ रनले पराजित
  • लुम्बिनी खोज
  • २०८० आश्विन १६, मंगलवार ०८:३३ गते

बुटवल १६ असोज ।
चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोली क्वार्टरफाइलमै पराजित भएको छ । मंगलबार खेलिएको क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको हो । हारसँगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ ।
पहिलो ब्याटिङ गरी भारतले २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रनको योगफल बनाएको थियो । नेपालले दुई सय तीन रनको चुनौतीपूर्ण लक्ष्य पायो । युनिभर्सिटी मैदानमा भारतले टस जितेर ब्याटिङ निर्णय लिएको थियो ।
प्रत्युत्तरमा नेपालले २० ओभरमा नौ विकेटको नोक्सानीमा एक सय ७९ रन जोडेको थियो । भारतले सेमिफाइनल स्थान सुरक्षित गरेको छ ।
नेपालको ब्याटिङमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रनको योगदान दिएका थिए । उनले १५ बलमा चार छक्का प्रहार गरेका थिए । यसैगरी कुशल मल्ल र सन्दीप जोराले समान २९ रन बटुले । कुशलले २२ बलमा समान दुई चौका र छक्का हिर्काए । सन्दीप जोराले १२ बलमा तीन छक्का र एक चौका प्रहार गरे । करण केसीले १३ बलमा दुई छक्का र एक चौकाको सहयोगमा १८ रन बनाए । भारतले नेपाललाई १२ अतिरिक्त रन दिएको थियो ।

नेपाल र भारतबीच पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० खेल भएको हो । गत महिना नेपाल पाकिस्तान र श्रीलंकामा संयुक्त रूपमा आयोजना भएको एसिया कपमा भारतविरुद्ध पहिलोपटक एकदिवसीय खेलमा भिडेको थियो ।