२०८३ आश्विन २७

बुटवल उवासंघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल
  • लुम्बिनी खोज
  • २०८३ आश्विन २७, मंगलवार १३:०० गते

पौडेल चार दशकदेखि उद्योग–व्यवसाय क्षेत्रमा सक्रिय छन्

बुटवल २७ असोज ।
बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् ।
संघको २६औँ अधिवेशनमा भएको मतदानमा प्रतिस्पर्धी टंकप्रसाद गैरेलाई पराजित गर्दै पौडेल विजयी भएका हुन् । पौडेलले ८३३ मत र गैरेले ६०१ मत प्राप्त गरेका छन् ।

अध्यक्षमा निर्वाचित पौडेलसँग उद्योग–व्यवसाय र संस्थागत नेतृत्वको अनुभव छ।
बागलुङमा जन्मिएका पौडेल चार दशकदेखि उद्योग–व्यवसाय क्षेत्रमा सक्रिय छन्। विभिन्न प्रतिष्ठित उद्योग तथा व्यवसायमा उनको लगानी रहेको छ। बुटवल हस्पिटल र एशोदा फुड्सलगायतका उद्योगमा आबद्ध पौडेलसँग सम्बन्धित उद्योग–व्यवसायमा झन्डै पाँच हजारले रोजगारी पाएको बताइएको छ। उनको व्यावसायिक यात्रा लगानी विस्तारसँगै रोजगारी सिर्जना र आर्थिक गतिविधिमा योगदानसँग पनि जोडिएको छ।
व्यवसायसँगै सार्वजनिक जीवनमा समेत अनुभव सँगालेका पौडेलले जनप्रतिनिधिका रूपमा पनि जिम्मेवारी निर्वाह गरेको अनुभव छ। उनी बुटवल उपमहानगरपालिकाका निर्वाचित वडा अध्यक्ष समेत हुन् । बुटवल उद्योग वाणिज्य संघमा कार्यसमिति सदस्यदेखि उपाध्यक्षसम्मको भूमिका समालिसकेका पौडेलले संघको नेतृत्व हात पारेका हुन् ।
वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई ७२४ मत पाएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी विमलराज भट्टराईले ६९८ मत पाए ।
उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ ७१२ मत पाएर निर्वाचित हुदा प्रतिस्पर्धी निर्मित कसजूले ६९३ मत पाएका छन् । वाणिज्य उपाध्यक्षमा ७१९ मत सहित मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी बाबुराम विश्वकर्माले ७ सय मत पाएका छन् ।
महासचिवमा बसन्त ढकाल निर्वाचित भएका छन् । उनले ७१४ मत पाएर निर्वाचित हुंदा प्रतिस्पर्धी जमुना पौडेलले ७०२ मत पाइन् । कोषाध्यक्षमा ७३८ मत पाएर टिकाराम बन्जाडे निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी प्रतीक पोखरेलले ६७३ मत पाएका छन् ।
सचिवमा दिपकप्रसाद चापागाईं ७५२ मत पाएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी काशिराम शर्मा पौडेलले ६८४ मत पाएका छन् ।
सह–कोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) ८६८ मत सहित निर्वाचित भइन् भने प्रतिस्पर्धी जाकिर हुसेनले ५४२ मत पाए ।
एसोसिएट सदस्यतर्फ बालकृष्ण पौडेल, उद्योग सदस्यहरुमा गोपाल टण्डन, सुनिता शर्मा बन्जाडे, लेखनाथ भण्डारी र ज्ञानबहादुर पुन निर्वाचित भए ।
वाणिज्य सदस्यहरुमा गणेशप्रसाद भट्टराई,रामबहादुर भण्डारी,सुनिता गिरी र उमेश अमात्य निर्वाचित भएका छन् ।
खुल्ला सदस्यमा विजयकुमार वर्णवाल, विष्णु घिमिरे पन्थ (कमला), विष्णुप्रसाद उपााध्याय, दीपक घिमिरे, गोपालप्रसाद बस्याल, प्रदीप शाक्य, सुनिता अर्याल, महिला सदस्यमा मन्जु पुरी गिरी र रेनु श्रेष्ठ निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए ।