२०८१ पुष १२

सरकारलाई अर्थतन्त्रप्रति सोच्ने र समाधानका लागि पहल गर्ने फुर्सद नै छैनः एमाले उपाध्यक्ष विष्णु पौडेल
  • लुम्बिनी खोज
  • २०८० आश्विन २९, सोमबार ११:२३ गते

बुटवल ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रको अर्थतन्त्र भयावह हुँदा पनि त्यसतर्फ सोच्ने फुर्सद सरकारलाई नभएको बताएका छन् ।
रुपन्देही उद्योग संघको ४५औँ साधारणसभा तथा २३औँ अधिवेशनको सोमबार उद्घाटन गर्दै उनले मुलुकको अवस्था के हो भन्नेमा अर्थमन्त्री, उद्योगमन्त्री तथा प्रधानमन्त्रीका जवाफ छुट्टाछुट्टै आउने गरेको भन्दै यो सरकार मुलुकप्रति जिम्मेवार नदेखिएको आरोप लगाए।

‘मुलुकको आर्थिक अवस्था संकटमा छ, तर यो सरकार सत्ता टिकाउन चिर्कटे सम्झौता गर्नमा व्यस्त छ,’ कोशी प्रदेशमा गरिएको सम्झौताप्रति संकेत गर्दै उनले भने, ‘जनतालाई गठबन्धन भत्केला, सरोकार छैन। मुलुकको समस्याको चिन्ता छ, तर चिर्कटो सम्झौता गर्दा सरकारलाई मुलुक र मुलुकको अर्थतन्त्रप्रति सोच्ने र समाधानका लागि पहल गर्ने फुर्सद नै छैन।’

उद्योगी–व्यवसायीका समस्याप्रति गम्भीर नभएको सरकारले उल्टै लाठी लिएर टाउकोमा हान्ने काम गरिरहेको उनको टिप्पणी छ। वर्तमान सरकारको नीति तथा कामबाट कोही पनि उद्योगी सन्तुष्ट नरहेको पौडेलको दाबी छ।

उद्योगीसँगै पुँजी पलायन हुने अवस्थामा मुलुक रहेको भन्दै पौडेलले विदेशी लगानी भित्रिने अवस्था पनि नरहेको बताए। ‘कोभिड र भूकम्पका बीचमा हामीले अर्थतन्त्र सम्हालेर आएका हौँ, अहिले कोभिडका कारण समस्यामा छ भन्न पाइँदैन,’ पौडेलले भने। सरकारले अनावश्यक कर लगाएर पनि लक्ष्यभन्दा धेरै कम राजस्व संकलन भएको भन्दै यो आर्थिक वर्षमा लक्ष्यको ५०–६० प्रतिशत राजस्व उठ्नेमा समेत शंका व्यक्त गरे।कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्रमा सिथिलता रहेको भन्दै उद्यागीले भोग्नुपरेका समस्याबारे चर्चा गरेका थिए ।
प्रतिनिधिसभा सदस्य तथा एमाले नेता वासुदेव घिमिरेले देशको अर्थतन्त्र प्रति सरकार गंभीर नरहेको बताए ।

यसैगरी रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले आर्थिक क्षेत्रका बारेमा धारणा राखेका थिए । कार्यक्रममा उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार शेरबहादुर केसीलाई प्रदान गरिएको थियो । ५० हजार राशीको सो पुरस्कार पत्रकार महासंघको समन्वयमा संघले स्थापना गरेको हो ।