२०८३ भाद्र ४

शिक्षा सुधारका लागि सरोकारवालाबीच संवाद, ११ समूहबाट सुझाव
  • लुम्बिनी खोज
  • २०८३ भाद्र ३, बुधबार १५:५७ गते

बुटवल, ३ भदौ ।

शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा तथा प्रधानाध्यापक संघ नेपालको सहजीकरणमा शिक्षाका सरोकारवालासँग शिक्षा संवाद कार्यक्रम बुधबार बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

शिक्षामा देखिएका वर्तमान समस्या, चुनौती तथा समाधानका उपायबारे केन्द्रित संवादमा विभिन्न क्षेत्रका ११ समूहले आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।

विद्यार्थी, विशेष शिक्षा, धार्मिक शिक्षा, बालविकास शिक्षा, विद्यालय कर्मचारी, प्राविधिक धारका प्रशिक्षक, साविक उच्च माध्यमिक, राहत तथा अस्थायी करार शिक्षक, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय प्याब्सन, प्रधानाध्यापक तथा शिक्षक, स्थानीय तह, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका प्रतिनिधिले शिक्षाका समसामयिक विषयमा धारणा राखेका थिए।

स्थानीय तहको तर्फबाट बुटवल उपमहानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत यादवचन्द्र बिष्टले धारणा राखेका थिए। त्यस्तै, प्रधानाध्यापक तथा शिक्षकको तर्फबाट नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, साविक उच्च मावि, राहत, अनुदान तथा करार–अस्थायी शिक्षकको तर्फबाट युवराज न्यौपाने र प्याब्सनको तर्फबाट लालहरी पाण्डेले आफ्ना धारणा प्रस्तुत गरेका थिए।

प्राविधिक धार सञ्चालन भएका विद्यालयका तर्फबाट प्रशिक्षक इन्जिनियर सागर भुसालले प्राविधिक शिक्षासँग सम्बन्धित समस्या तथा सुधारका उपायबारे धारणा राखेका थिए।

कार्यक्रममा शिक्षाविद् प्राध्यापक डाक्टर विद्यानाथ कोइराला, शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा, शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा, प्रधानाध्यापक संघ नेपालका केन्द्रीय अध्यक्ष सुदाम गौतम, शैक्षिक अभियन्ता अभिषेक घिमिरे तथा म्युजिकल पिटीका अभियन्ता हरिश ओलीलगायतले शिक्षाको वर्तमान अवस्था र सुधारका आवश्यकताबारे धारणा राखेका थिए।

वक्ताहरूले शिक्षाको गुणस्तर सुधार, विद्यालय शिक्षामा देखिएका व्यावहारिक समस्या, शिक्षक तथा कर्मचारीका समस्या, प्राविधिक शिक्षाको प्रभावकारिता, स्थानीय तहको भूमिका तथा विद्यार्थीमैत्री शिक्षण प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका थिए।

शिक्षासँग सम्बन्धित विभिन्न क्षेत्रका सरोकारवालाबीच प्रत्यक्ष संवादमार्फत समस्या पहिचान गरी समाधानका उपाय खोज्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको सञ्चालन शिक्षा विकास तथा समन्वय एकाइ रूपन्देहीका इकाई प्रमुख विष्णुप्रसाद पन्थीले गरेका थिए। शिक्षा पत्रकार लक्ष्मी ढकाल र प्रकृति अधिकारीलगायतको सहभागिता रहेको कार्यक्रममा शिक्षासँग सरोकार राख्ने करिब ३०० जनाको उपस्थिति थियो।