२०८३ भाद्र ७
समयको सदुपयोग गर्दै प्रविधिको सही प्रयोग गर्न पूर्वमन्त्री पन्थीको आग्रह
लुम्बिनी, ५ भदौ ।
नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय देवीनगर, बुटवलमा कक्षा १२ मा अध्ययनरत विभिन्न समूहका विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेका छन्। शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा शनिबार विशेष कार्यक्रम आयोजना गरी नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थीले आफूले ४६ वर्षअघि त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा यस्तै स्वागत कार्यक्रम गरेको स्मरण गरे। उनले जीवन महत्वपूर्ण भए पनि जीवनभन्दा समय अझ महत्वपूर्ण भएकाले विद्यार्थीलाई समयको सदुपयोग गर्न आग्रह गरे।
उनले विज्ञान र प्रविधिले दिएका एआई, इन्टरनेटलगायतका प्रविधि मानव जीवनलाई सहज बनाउन निर्माण भएकाले तिनको सही र सिर्जनात्मक प्रयोग गर्न विद्यार्थीलाई आग्रह गरे। शिक्षकहरूलाई पनि प्रविधिसँगै आफूलाई निरन्तर अपडेट गर्दै अध्यापन गराउन आग्रह गर्दै उनले नवीनका शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिको सदस्य हुन पाएकोमा गर्व गर्नुपर्ने बताए।
सामाजिक विकास डिभिजन कार्यालय, रूपन्देहीका अधिकृत भागीरथ अधिकारीले विद्यार्थीहरू एउटै उद्देश्य लिएर अघि बढ्नुपर्ने बताए। प्रदेशस्तरीय विज्ञान तथा स्टिम प्रदर्शनीमा नवीनका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्नु विद्यालयको शैक्षिक उपलब्धिको प्रमाण भएको उल्लेख गर्दै उनले शिक्षक, व्यवस्थापन र प्रशासनको सक्रियताले विद्यालयको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगेको बताए।
राष्ट्रिय परीक्षा बोर्ड, लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलकी अधिकृत बिना बस्यालले नवीन औद्योगिक क्षेत्रकै महत्वपूर्ण शैक्षिक हबका रूपमा स्थापित भएको बताइन्। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको अंकलाई मात्र नभई उनीहरूको सीप, सिर्जनात्मक सोच, जीवनोपयोगी ज्ञान र मूल्य–मान्यतालाई समेत महत्व दिने भएकाले विद्यार्थीले यस्ता पक्षको विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सल्लाहकार संयोजक कृष्णप्रसाद खरेल, शिक्षक–अभिभावक संघकी अध्यक्ष सीता न्यौपाने, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू हुमाकान्त लम्साल र अनिलकुमार ठाकुर, प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, सहायक प्रधानाध्यापक तथा शिक्षा समूहका इन्चार्ज रोमनाथ घिमिरे, विज्ञान समूहका इन्चार्ज लक्ष्मीनारायण चौधरी, व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी, सिभिल इन्जिनियरिङकी इन्चार्ज सपना भट्टराई, सिभिल इन्जिनियरिङका संयोजक इन्जिनियर विमल अर्याललगायतले शुभकामना तथा धारणा राखेका थिए।
त्यस्तै नवीन विद्यार्थी क्लबकी अध्यक्ष अञ्जना ज्ञवाली, कानुन समूहकी विद्यार्थी रूपा ढकाल र विज्ञान समूहकी विद्यार्थी नितु गौडले पनि कार्यक्रममा आफ्ना भनाइ राखेका थिए।
शिक्षा समूह कक्षा १२ का विद्यार्थी विजय क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन व्यवस्थापन समूह कक्षा १२ का विद्यार्थी सदिक्षा ज्ञवाली र शुभेच्छा शाक्यले गरेका थिए।
कार्यक्रममा विद्यालयका सांस्कृतिक संयोजक अर्जुन शाह ठकुरीको नेतृत्वमा विद्यार्थीहरूले लाखे नाचसहित विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। विभिन्न समूहका विद्यार्थीहरूले दर्जनौँ आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै कार्यक्रमलाई मनोरञ्जनात्मक र भव्य बनाएका थिए। कार्यक्रम अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हल, लुम्बिनीमा सम्पन्न भएको हो।


