२०८१ श्रावण १२

लुम्बिनीमा फागुन २८ र २९ गते शिखर सम्मेलन
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १९, शनिबार १२:४९ गते

नोबेल शान्ति पुरस्कार विजेता देखि विभिन्न राष्ट्रका ब्यक्तित्वहरु सहभागि हुने

बुटवल १९ फागुन ।
शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभुमि लुम्बिनीमा गर्न लागिएको वालवालिका, विकास र शान्तिका लागि चौथो अन्तर्राष्ट्रिय लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलनको तयारी तीव्र पारिएको छ ।
लुम्बिनी प्रदेश सरकारको आयोजनामा यही फागुन २८ र २९ गते मा लुम्विनीमा हुने शिखर सम्मेलनमा नेपालसँग दौत्य सम्बन्ध कायम भएका विभिन्न राष्ट्रका सरकारका उच्च तहका ब्यक्तित्वहरु, नोबेल शान्ति तथा अन्य विधामा पुरस्कार विजेताहरु सहभागि हुनेछन् । त्यस्तै सम्मेलनमा संयुक्त राष्ट्र संघीय निकायका प्रमुख वा प्रतिनिधि, विश्वव्यापी व्यावसायिक नेताहरु, विश्वव्यापी निर्णय–निर्माताहरू विपन्नताबाट माथी उठेका अनुभवी युवा, युवा नेताहरूको सहभागिता रहने आयोजक लुम्बिनी प्रदेश सरकारले जनाएको छ । शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी लुम्बिनीका मुख्य मन्त्री डिल्लिबहादुर चौधरीले सम्मेलनमा बालवालिकाको समग्र हित, दिगो विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रवर्धन हुने बिश्वास ब्यक्त गरेका छन् । सम्मेलनमा १० वटा कार्यपत्र प्रस्तुत हुने छन् । ती कार्यपत्र माथि गहन छलफल गरिने र निष्कर्ष प्रस्तुत गरिने छ ।
तुम्बिनी प्रदेश सरकारले आ.ब. २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा लुम्बिनीको शान्ति र करुणाको सन्देश विश्वभर फैलाउन सबै सरोकारवालाको सहकार्यमा बुद्ध जन्मस्थलमा नोबेल पुरस्कार विजेता तथा विभिन्न देशका राजनेताको सहभागितामा अन्तर्राष्ट्रियस्तरको “लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन आयोजना गर्न आवश्यक व्यवस्था मिलाउने उल्लेख गरेको थियो । केन्द्र सरकार मन्त्रिपरिषद्बाट स्वीकृती पछि सम्मेलनको तयारीमा जुटेको प्रदेश सरकारले ६ करोड ५० लाख भन्दा पनि बढी विनियोजन गरेको थियो । तर सम्मेलनमा प्रदेश सरकारको २ करोड भन्दा बढी खर्च नगर्ने गरी तयारीमा जुटेको मुख्यमन्त्री चौधरीले बताएका छन् । लुम्बिनीको अन्तराष्ट्रिय रुपमा ब्राण्डिङ गर्न सम्मेलन फलदायी हुने विश्वास आयोजकले लिएका छन् ।
उद्घाटनमा ४ हजार र विषयगत छलफलमा ३ सय जना सहभागि हुने
२८ गतेको उद्घाटन समारोहमा ४ हजार जनाको सहभागिता रहने आयोजकले बताएका छन् । स्थानीय विद्यार्थी, अभिभावक, नीति तर्जुमाकार, कार्यान्वयनकर्ता, सहजकर्ता, विकास साझेदारलगायत अन्य सरोकारवालाहरू समेत करिव ४ हजार जनाको सहभागिता रहने मुख्यमन्त्री चौधरीले बताए । त्यस्तै विषयगत छलफलमा करिव ३ सय जना विषय विज्ञ अतिथि तथा विशिष्ट अतिथि सहभागी हुने अनुमान गरिएको उनको भनाइ छ । सम्मेलनमा करिब एक सय जना विभिन्न क्षेत्रमा क्रियाशिल विदेशी ब्यक्तित्वहरुको सहभागिता रहने छ ।
आयोजकको रुपमा नेपालले शिखर सम्मेलनको उद्घाटन सत्र तथा सहायक कार्यक्रम र यसका विषयवस्तु तथा ढाँचा विकास गर्ने, शिखर सम्मेलनमा सहकार्य गर्न सक्ने सरोकारवालाको परिचालन र निर्धारण गर्ने छ । त्यस्तै कार्यक्रम स्थलको छनौट गर्ने, कार्यक्रम स्थल, वास तथा खानाको व्यवस्था गर्ने, आवश्यक सबै प्रकारका सामग्री र सवारी साधन, शान्ति सुरक्षा तथा आकस्मिक सेवाको सुनिश्चतता गर्ने, मिडिया व्यवस्थापन गर्ने, अतिथीको आतिथ्यता तथा पर्यटकीय भ्रमण व्यवस्था गर्ने आदिको प्रवन्ध गर्ने गरी आयोजक जुटेका छन् । शिखर सम्मेलनलाई प्रभावकारी एवं सफलतापूर्वक संचालन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा निर्देशक समिति समेत यहा क्रियाशिल छ ।
उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने
सम्मेलनको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी स्थीत लुम्बिनी अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा गर्नेछन् ।
उद्घाटन समारोहपछि विभिन्न शिर्षकमा समुहगत छलफल गरिने छ । समुहगत छलफल पछि साझा धारणा सहित फागुन २९ गते दिउसो करिब साढे ३ बजे मायादेवी मन्दिर परिसरमा सम्मेलनको घोषणापत्र जारी गर्दै सम्मेलन समापन गर्ने कार्यक्रम तय गरिएको छ ।
बर्दिया देखि पाल्पासम्मका पर्यटकीय स्थल भ्रमण गराइने
कार्यक्रममा सहभागि हुने बिदेशी पाहुनाहरुलाई बर्दिया राष्ट्रिय निकुन्ज, स्वर्गद्वारी र पाल्पाको तानसेनमा भ्रमण गराउने तयारी समेत गरिएको छ । शान्ति भुमि लुम्बिनीमा आउने विदेशी पाहुनालाई लुम्बिनीमा मात्रै सिमित नराखी यहाका महत्वपूर्ण पर्यटकीय स्थलहरुमा समेत भ्रमण गराएर पर्यटन प्रर्वद्धन गर्न ती ठाउमा भ्रमण गराउने कार्यक्रम तय गरिएको छ । लुम्बिनी पर्यटकीय रुपमा निकै महत्व वोकेको प्रदेश रहेको र यहा धेरै पर्यटकीय स्थल छन् भन्ने तथ्य अन्तराष्ट्रमा प्रचार प्रसार गराउन भ्रमण गराउने कार्यक्रम बनाइएको मुख्यमन्त्री चौधरीले बताए ।
शिखर सम्मेलनको सफलताले लुम्बिनी एवम् सम्पूर्ण लुम्विनीवासीको शिर उच्च बनाउने र गरिमा बढ्ने तथा अन्तर्राष्ट्रिय मन्चमा नेपालको साथै लुम्बिनी प्रदेशको प्रतिष्ठा समेत अभिवृद्धि हुन जाने विश्वास गरिएको चौधरीले बताए । अन्तर्राष्ट्रिय रुपमै बुद्धका करुणा, अहिंशा र शान्तिका सन्देश प्रचार प्रसार हुने र अन्तरर्राष्ट्रियस्तरमा लुम्बिनी क्षेत्रको पहिचान अभिवृद्धि भई महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा विकास गर्न सम्मेलन फलदायी हुने विश्वास गरिएको मुख्यमन्त्री चौधरीको भनाइ छ । सम्मेलनलाई भब्य रुपमा सम्पन्न गर्न विभिन्न तयारीका काम भइरहेको प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बताए । प्रदेश सरकारले सबै क्षेत्रको सहभागितामा सम्मेलन भब्य रुपमा सम्पन्न गर्ने गरी आवश्यक छलफलहरु पनि गरिरहेको जनाएको छ । शान्ति, पर्यटन, आर्थिक विकास तथा बालबालिकाका क्षेत्रमा सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा प्रदेश सरकारले गरेको छ ।