२०८१ श्रावण १२

नवीनमा नृत्य तथा खेलमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २०, आईतवार ०९:५१ गते

बुटवल, २० फागुन ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा नृत्य तथा विभिन्न खेल विद्यामा उत्कृष्ट विद्यार्थीहरूलाई आइतबार सम्मान गरिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले खेलाडी विद्यार्थीलाई प्रदेश सरकारले प्रोत्साहन गरिरहेको र भविष्यमा पनि गर्ने आश्वासन दिए । विद्यालय राष्ट्रमै औलामा गन्न सक्ने विद्यालयको रुपमा स्थापित भएकोमा खुशी व्यक्त गर्दै उनले विद्यार्थी संख्याको आधारमा भौतिक पूर्वाधारको अभाव भएकोले सामाजिक विकास मन्त्रालय मार्फत बढी भन्दा बढी बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे । विद्यार्थी ठूलो मान्छे बन्ने भन्दा पनि इमान्दार, ज्ञानी, अनुशासित र देशप्रेमी हुनुपर्नेमा उनले जोड दिए ।
उक्त अवसरमा बुटवल उपमहानगरपालिकाका युवा तथा खेलकुद शाखाकी सहायक निर्देशक कोपिला ज्ञवाली, विद्यालय व्यवस्थापन समिति सदस्यहरू राजेन्द्र ढकाल, कमला भण्डारी ज्ञवालीले धारणा राखेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालय सुधारका चार खम्बाहरु शोक विश्लेषण लगायत विद्यालयको समग्र गतिविधि झल्कने विद्यालयका असल अभ्यासहरूको सहजीकरण गरेका थिए ।
कार्यक्रममा विभिन्न विद्यामा सहभागी प्रतिभावान विद्यार्थीहरूलाई प्रोत्साहन तथा प्रवर्धन गर्ने उद्देश्यले बुटवल उपमहानगर स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने २५ जनालाई सम्मान गरिएको थियो । त्यस्तै अन्तर विद्यालय स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता उपविजेता १८ जना, बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरविद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा उपविजेता १४ जना , नेपथ्य स्पोर्ट्सद्वारा आयोजित टि २० जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा सेकेन्ड रनरअप भएका १५ जना गरी ७२ जनालाई रु १ लाख ५ हजार १ सय नगद रकम हस्तान्तरण गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा व्यवस्थापन समूह कक्षा १२ की छात्रा एन्जिला क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा मन्त्रीले भौतिक अवस्थाको निरीक्षण समेत गरेका थिए ।