२०८१ श्रावण १२

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा २८ गते लेजेण्ड्स कप हुँदै
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २६, शनिबार १४:४२ गते

बुटवल २६ फागुन ।
निजी क्षेत्रको लगानीमा रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको खेलमैदानमा एक्स्ट्राटेक लिजेन्ड्स कप हुने भएको छ ।
गैर–आवासीय नेपाली विनोद कुँवरले अष्ट्रेलियामा गरेको कमाइबाट तिलोत्तमा नगरपालिकामा निमार्ण गरेका एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पहिलो चरणको संरचना तयार भएपछि फागुन २८ गते उद्घाटन खेल सञ्चालन गर्ने तयारी भएको छ ।
गत जेठ ३० गते शिलान्याय गरिएको उक्त रंगशालामा लेजेण्ड्स क्रिकेट कप आयोजना गर्न लागेको एक्स्ट्राटेक ओभल क्रिकेटका निर्देशक बिनोद कुँवरले जानकारी बताए ।
२८ गते टी–१० एकदिने प्रतियोगितामा लेजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चारवटा टोलीले प्रतिष्पर्धा गर्दैछन् । नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको थियो । यो टोलीका १४ मध्येका १२ खेलाडी लिजेन्ड्स ९६ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा उत्रिनेछन् ।
यही टोलीका ६ खेलाडी विश्वकप २०१४ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्नेछन् । पारस खड्काको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जितेन्द्र मुखिया र अविनाश कर्ण रहेका छन् । २०१४ मा विश्वकप खेलेको नेपाली टोलीका ८ खेलाडी अहिले विदेशमा छन् । सोमपाल कामी र विनोद भण्डारी नेपाली राष्ट्रिय टोलीसँगै हङकङमा छन् ।
त्यसैगरी नेपालको पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका टोली बीचको कम्बिनेसन गराएर रेस्ट अफ नेपाल बनाईएको छ । विनोद दासको कप्तानीमा रहेको रेष्ट अफ नेपाल टोलीमा नेपालबाट अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीहरु रहेका छन् । हरि थापाको कप्तानीमा रहेको रुपन्देही लिजेन्ड्समा सञ्जीव जोशी, दुर्गा सेन, अन्तिम थापा, लालबहादुर अधिकारीसहित अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडीहरु रहेका छन् ।
नेपाली महिला टोलीले २००७ मा मलेसियामै भएको एसीसी कप प्रतियोगिता खेलेको थियो । सो टोलीका चार खेलाडीले यस तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्ने छन् । नितु थापा रुपन्देही लिजेन्ड्स, ममता थापा विश्वकप २०१४, नीरा राजोपाध्याय लिजेन्ड्स ९६ र सीता रानामगर रेस्ट अफ नेपालबाट खेल्ने छिन् । त्यस्तै गायक प्रमोद खरेलले रेष्ट अफ नेपाल, बढी पंगेनीले विश्वकप २०१४ र कर्पोरेटका प्रतिनिधित्व राजेन महर्जनले लिजेन्ड्स ९६ बाट खेल्नेछन् ।
तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा निभिया जर्सी पार्टनर र एयरलायन्स पार्टनरको रुपमा यति एयरलायन्सले सहयोग गरेको छ । एक्स्ट्राटेक ओभल प्रा.लि.का निर्देशक विनोद कुँवरले ९ महिनामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट निर्माण गरी प्रतियोगिता गर्न लागिएको जानकारी दिए । कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा , संघका निवर्तमान अध्यक्ष प्रशान्त विक्रम मल्ल , लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ , नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले नेपालमा खेलकुदको दायरा फराकिलो बन्दै गएको बताए ।
जर्सी पाटर्नर निभियाका राजन महर्जनले रुपन्देहीका धेरै खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा योगदान पुर्याएको चर्चा गरे ।